Friday, August 18, 2017  |    

स्थानिय निर्वाचनमा कुनै घटना भए ५ मिनेटभित्रै प्रहरी घटनास्थलमा

प्रकाशित मिति: 2017/05/09

बैशाख २६, पोखरा । पश्चिमाञ्चलका सबै जिल्लामा चुनावी सुरक्षा तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ ।

चुनाव हुनुपूर्व, चुनावको समय र चुनावपछिको अवस्थालाई समेत मध्यनजर गरेर सुरक्षा प्रवन्ध मिलाइएको छ ।
निर्वाचनको समयमा कुनै घटना भएको पाँच मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेर सुरक्षा दिने ब्यवस्था मिलाएको क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले दाबी गर्नुभयो ।
कुनै घटना भएमा सधैंझैं प्रहरीको कन्ट्रोल रुम १०० र क्षेत्रीय प्रहरीको १११३ नम्बरमा फोन गरेमा पाँच मिनेटभित्रै सुरक्षा ब्यवस्था मिलाउने ब्यवस्था मिलाइएको उनको भनाई छ ।
पश्चिमाञ्चल क्षेत्रमा ५ सय ५५ अतिसंवेदनशील, ७ सय ३१ वटा संवेदनशील र ८ सय ७० वटा सामान्य क्षेत्र निर्धारण गरी सुरक्षा प्रवन्ध मिलाइएको छ । सामान्य क्षेत्रमा १५ देखि २५ जना र संवेदनशील क्षेत्रमा ६० जना र अति संवेदनशील क्षेत्रमा ६० देखि ७५ जनासम्म सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ ।
मतदानस्थलको सुरक्षा संवेदनशीलता हेरेर प्रहरी निरीक्षक वा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइने जनपथ प्रहरीका प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले बताए ।
पश्चिमाञ्चल क्षेत्रमा निर्वाचन सुरक्षार्थ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, नेपाली सेना र जनपद प्रहरीलाई खटाउन शुरु गरिएको छ ।
पश्चिमाञ्चलमा चुनावी थ्रेट खासै नभएपनि चुनावमा भाग नलिएका दलहरु सुरक्षा थ्रेटको रुपमा देखापर्ने सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।
पश्चिमाञ्चलमा पहिलो चरणको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा यहि बैशाख ३१ गते निर्वाचन हुनेछ । पहिलो चरणको चुनावका लागि २ हजार १ सय ५७ मतदान स्थल तोकिएको छ ।

१४ लाख १३ हजार ३ सय २२ मतदाता रहेको यस क्षेत्रमा १२ हजार ६ सय २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १३ हजार १० जनाले सुरुमा उम्मेद्वारी दर्ता गरेपनि ४ सय ८४ जनाले उम्मेद्वारी फिर्ता लिएका थिए ।

तपाईंको बिचार