Sunday, December 17, 2017

राजेन्द्र महतो भन्छन– ‘नत्र मधेसमा चुनाव हुन दिन्नौं’

प्रकाशित मिति: 2017/05/11

बैशाख २८, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको चुनावका लागि तीन शर्त अघि सारेको छ । यो माग पुरा नभए आफूले भाग नलिने मात्र नभई मधेसमा चुनाव नै हुन नदिने उसको चेतावनी छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनावका लागि संविधान संशोधन, तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या बृद्धि र आन्दोलनकारीहरुमाथि लागेको मुद्दा फिर्ता हुनु पर्ने आफूहरुको शर्त भएको बताए ।
रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा महतोले भने, ‘जेठ ४ गते संसद बैठक राखिएको छ । त्यसबेलासम्म हाम्रा तीन माग पुरा भएन भने चुनाव हुन सक्दैन ।’

प्रतिवद्धता अनुसार संविधान नभएका कारण पहिलो चरणको चुनावमा आफूहरुले भाग लिन नपाएको भन्दै उनले अहिले पनि आफूहरुलाई बाहिरै राख्ने प्रयास भइरहेको बताए । 
राजपा नेपालका नेता महतोले जेठ ४ गतेसम्म माग पुरा नभए आन्दोलनको घोषणा हुने बताए । संविधान संशोधन नभई चुनाव हुनसक्दैन भन्ने उपेन्द्र यादव नै चुनावमा गएपछि केहीलाई भ्रम परेको भन्दै उनले अघि भने, ‘राजपा नेपाल र संघीय गठवन्धन पनि यसरी नै मुद्दा छाडेर चुनाव आउँछ भन्ने नठान्नुस् । हामी सम्झौता गर्दैनौं ।’
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र एमालेतर्फ संकेत गर्दै उनले अबको आन्दोलन संविधान संशोधन हुन नदिनेसँगै मुद्दा छाड्ने विरुद्ध पनि हुने बताए ।

 

तपाईंको बिचार