Monday, June 26, 2017  |    

३ नम्बर प्रदेशमा एमाले बहुमत उन्मुख, माओवादी कमजोर

प्रकाशित मिति: 2017/05/19

जेठ ५, काठमाडौं । देशको राजधानीसमेत जोडिएको ३ नम्बर प्रदेशमा हालसम्मको मतगणना अनुसार नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेस फराकिलो अन्तरले दोस्रोमा छ भने माओवादी निकै कमजोर देखिएको छ ।

प्रदेश नम्बर ३ कुल ११९ वटा स्थानीय तह छन् । यीमध्ये हालसम्म औपचारिक परिणाम आएका ८७ स्थानीय तहमा एमालेले ४२ स्थानमा जीत हात पारेको छ । नेपाली कांग्रेसले २९ स्थान जितेको छ भने माओवादीले १४ स्थानमा जितेको छ ।
राप्रपाले धादिङको रुबी भ्यालीमा जितेर सिंगो प्रदेशमा १ स्थानमा खाता खोलेको छ भने नयाँशक्तिले पनि रसुवाको गोसाइकुण्डमा जितेर एउटा स्थानमा खाता खोलेको छ । प्रदेश नम्बर ३ मा स्वतन्त्र उम्मेदवारले एक स्थान पनि जितेका छैनन् ।

शुक्रबार बिहानसम्मको परिणाम हेर्दा ३ नम्बर प्रदेशका ८७ स्थानको नतिजा आइसकेको छ । अब ३२ स्थानको परिणाम आउन बाँकी छ ।
तर, परिणाम आउन बाँकी रहेका प्रदेश नम्बर ३ का ३२ स्थानमा पनि एमालेले नै बढ्ता स्थानमा अग्रता लिइरहेको छ । अहिलेसम्म यो प्रदेशमा एमालेले १६ स्थानमा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेसले १० वटा स्थानमा मात्रै अग्रता लिएको छ । कांग्रेसले अग्रता लिएका सबै स्थानमा जित्यो भने पनि यो प्रदेशमा एमाले नै पहिलो पार्टी बन्ने पक्कापक्की देखिएको छ ।
अग्रता लिएका सबै स्थानमा एमालेले जित्यो भने ३ नम्बर प्रदेशमा उसको सीट करिब ५५ को हाराहारीमा पुग्छ । कांग्रेसले अग्रता लिएका सबै स्थानमा जित्दा पनि उसको सीट ४० पुग्दैन ।

प्रदेश नम्बर ३ माओवादी केन्द्र निकै कमजोर देखिएको छ । यो प्रदेशमा १४ स्थान जितेको माओवादीले अहिले तीनवटा स्थानमा मात्रै अग्रता लिइरहेको छ ।

तपाईंको बिचार