Friday, July 28, 2017  |    

हाङजाओमा नाट्टाद्धारा पर्यटन प्रवद्र्धन

प्रकाशित मिति: 2017/06/14

जेठ ३१, काठमाण्डौ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले चिनमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले चीन नेपाल पर्यटन पवद्र्धन  कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पर्यटन बोर्ड, चीनको पर्यटन च्याम्बर तथा एअर चाईनाको संयुक्त सहयोगमा गएको ३२ सदस्यीय नाट्टा प्रवद्र्धन टोलीले चेङदू, ग्वाङजाओमा नेपाल प्रवद्र्धन कार्यक्रम गर्नुका साथै हाङ्गजाओमा नेपाल–चीन पर्यटन प्रवद्र्धन मिशन सम्पन्न गरेको छ । 

मिशनमा प्रमुख अतिथि सांघाईका अवैतनिक बाणिज्य महादूत जीयानमिङ उ ले हाङ्गजाओमा आयोजित समारोहमा नेपाल एवम् चीनका सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यका बारेमा बोल्दै यी दुई मुलुकहरुमाझ रहेको शताब्दीयौं पुरानो मित्रताबारे चर्चा गर्नु भएको थियो । उहांले समारोहमा उपस्थित चिनियां तथा संचारकर्मी एवम् आगन्तुकहरुलाई सम्बोधन गर्नु हुंदै नेपाल पर्यटकहरुका लागि विश्वमा नै एउटा अद्वीतिय गन्तव्यका रुपमा रहेको उच्च हिमाच्छादित पर्वत श्रृंखलाहरुले भरिपूर्ण भगवान बुद्धको जन्मस्थल हो भन्नु भयो । साथै, चीन विश्वमा नै सबैभन्दा अधिक पर्यटकहरुलाई विश्व–भ्रमणमा पठाउने दोश्रो मुलुक भएकाले नेपालले चिनियां पर्यटकहरुलाई नेपाल भ्रमणमा आकर्षित गरि धेरै लाभ आर्जन गर्न सक्ने संभावना रहेको औल्याउनु भयो । नाट्टाले आयोजना गरेको यस प्रवद्र्धन मिशनको सफलताको कामना गर्दै उहांले चीनबाट सम्पूर्ण सहयोग रहने विश्वास दिलाउनु भएको थियो । 

नेपाल चीन पर्यटन प्रवद्र्धन मिशनको हाङजाओमा भएको उक्त कार्यक्रमलाई नाट्टाका अध्यक्ष तथा टोली प्रमुख मधुसूदन आचार्यले सम्बोधन गर्नु हुदै पर्यटनको आदान–प्रदानबाट दुई देश बीचको विद्यमान मित्रता झन् बलियो हुंदै जाने कुरामा नाट्टा दृढ रहेको अभिव्यक्ति दिनु भएको थियो  । नेपाल पर्यटन बोर्डका कामु निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय आकर्षणहरुको चर्चा गर्दै चिनियां लगानीकत्र्ताहरुलाई नेपालको पर्यटनमा लगानीका प्रशस्तै अवसरहरु रहेको पनि उल्लेख गर्नु भएको थियो । सो अवसरमा त्यहां आयोजित बीटूबी मा हाङजाओका ६१ जना टूर व्यवसायीहरु नेपालबाट गएका २२ वटा पर्यटन सम्बद्ध कम्पनीहरु सहभागी रहेका थिए ।   

तपाईंको बिचार