Sunday, November 19, 2017

निगमले एएआरलाई ८ अर्ब पठाउन राष्ट्र बैंकसँग माग्यो अनुमति

प्रकाशित मिति: 2017/06/14

जेठ ३१, काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको लागि किस्तावापत अमेरिकी कम्पनी एएआरलाई पठाउनु पर्ने ८ अर्ब रकमको लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ ।

हालैमात्रै नेपाल कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण सम्झौता गरेको निगमले बुधबारदेखि किस्तावापत रकम पठाउनको लागि प्रक्रिया सुरु गरेको छ । रकम अभावको कारण अहिलेसम्म निगमले किस्तावापतको रकम पठाउने प्रक्रिया अघि बढाएको थिएन ।
तर, अब निगमले अहिलेका लागि सञ्चय कोषबाट ४ अर्ब र नागरिक लगानी कोषसँग चार अर्ब ऋण लिएर ८ अर्ब किस्तावापत रकम पठाउन लागेको छ । वैदेशिक मुद्रा पठाउँदा राष्ट्र बैंकसँग अनुमति लिन पर्दछ ।

निगमका सहायक प्रवक्ता शैलेश कंसकारले भने ‘राष्ट्र बैंकले अनुमति दिने बित्तिकै हामीले एएआरलाई रकम पठाउने छौं, अहिले यसका लागि राष्ट्र बैंकसँग निबेदन दिएका छौं ।’
निगमले एएआरसँग दुईवटा वाइड बडी जहाज खरिद गर्न लागेको छ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको छ ।
निगमले जहाज खरिदको लागि बैना रकम भने १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ ।
पहिलो विमान सन् २०१८ को अप्रिलसम्म ल्याइसक्ने निगमको तयारी छ । गत माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

तपाईंको बिचार