Sunday, November 19, 2017

गोर्खाल्यान्डको माग गर्दै अनिश्चितकालीन बन्द

प्रकाशित मिति: 2017/06/16

असार २, दार्जीलिङ । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको हो । 

बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्रहरी र सेना परिचालन गरेको पाँचौं दिन बिहान ७ बजे बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेपछि बन्द आह्वान गरिएको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिए । शर्माका अनुसार बिहान साढे ७ बजे गुरुङको घर पुगेको प्रहरीले घर र कार्यालयमा छापा मारेको थियो । गुरुङलाई गिरफ्तार गर्ने योजनासहित गए पनि उनलाई नभेटेपछि तोडफोड गरेको शर्माले बताए ।

घटनापछि गुरुङले गोर्खाल्यान्डको एक मात्र एजेन्डासहित आफू अविचलित अघि बढ्ने बताएको शर्माले जानकारी दिए । घटनापछि दार्जीलिङमा दिनभर सवारीसाधन नचलेको र विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प भएको शर्माले जानकारी दिए । घटनापछि अध्यक्ष गुरुङले गोर्खाल्यान्डका लागि एक भएर अघि बढ्न सबै दललाई आह्वान गरेका छन् । प्रहरीले दार्जीलिङमा सातजना र कालेबुङमा तीनजनालाई पक्राउ गरेको शर्माले जानकारी दिए । बंगाल सरकारको ज्यादती बढ्दै गएको भन्दै उनले नेपालीभाषी भारतीय संकटमा रहेकाले सहयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

यसअघि गोरखा जनमुक्ति मोर्चाले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले गोर्खाल्यान्ड राज्यप्राप्तिका निम्ति एकजुट भएर लड्ने निर्णय गरेका थिए । बैठकमा गोर्खा जनमुक्तिमोर्चा, गोर्खा राष्ट्रिय मुक्तिमोर्चा, गोर्खाल्यान्ड राज्यनिर्माण मोर्चा, क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी, भारतीय जनता पार्टी र गैरराजनीतिक संगठन भारतीयगोरखा परिसंघको उपस्थिति थियो । बैठकले जेठ २५ र ३० को प्रहरी दमनको समेत विरोध गरेको थियो । यसअघि मोर्चाले आन्दोलनका क्रममा स्कुल, कलेज, बजार र यातायात बन्द नहुने जनाएको थियो । सरकारले मोर्चाविरुद्ध दमनको रबैया अपनाएपछि आन्दोलन हिंसात्मक बन्दै गएको बताइएको छ ।

शनिबार दार्जीलिङमा सम्पन्न मोर्चाको केन्द्रीय समिति बैठकले प्रत्येक सोमबार र बिहीबार बैंकहरू खुल्ने, बिहीबार र शुक्रबार जनता सडकमा आएर गोर्खाल्यान्डका लागि प्रदर्शन गर्ने निर्णय गरेको थियो । बाङलाभाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपालीभाषा र जातिको मुक्तिआन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्तिमोर्चाले आन्दोलन सुरु गरेको हो ।–अन्नपूर्ण दैनिकबाट

तपाईंको बिचार