Friday, August 18, 2017  |    

संखुवासभामा ‘उम्मेदवार’ को हत्या भएको माओवादी दाबी

प्रकाशित मिति: 2017/06/19

असार ५, संखुवासभा । जिल्लाको दुर्गम भुतखोला गाउँपालिका वडा नम्बर २ मा आफ्ना वडाध्यक्षका उम्मेदवारको हत्या भएको भन्दै माओवादी केन्द्रले त्यहाँ पुनः मनोनयन दर्ता गर्न पाउनुपर्ने माग गरेको छ ।

माओवादी केन्द्रका १ नम्बर प्रदेश इञ्चार्जसमेत रहेका पूर्वमन्त्री गोपाल किरातीले आफुहरुका वडाध्यक्ष उम्मेदवार मनोनयन गर्दाका लागि आउँदै गर्दा बाटैमा हत्या भएकोले हत्यारालाई कारवाही गरी त्यहाँ पुनः मनोनयन दर्ता गर्न दिनुपर्ने बताए ।

किरातीका अनुसार भुतखोला–२ का छिनाङ भोटे उम्मदेवारी दर्ताका लागि हटियाकेन्द्रतर्फ आउँदै गर्दा बाटैमा उनको हत्या भएको हो । माओवादीले आइतबार त्यहाँ वडाध्यक्षमा मनोनयन दर्ता गराएको छैन ।
नेता किरातीले सरकारले शान्ति सुरक्षा कायम गर्नुपर्ने र हत्यारालाई कारवाही तथा पुनः उम्मदेवारी दर्ता गर्न पाउनुपर्ने बताए ।

किरातीले आफ्ना कार्यकर्ताको हत्या एमालेले गरेको आरोप लगाएका छन् । साथै उनले एमालेलाई त्यहाँ निर्वाचन लड्न दिन नहुने र हत्यारालाई तुरुन्त पक्रेर कारवाही गर्नुपर्ने बताएका छन् । किराती यतिबेला जिल्लामै छन् ।

स्थानीय प्रशासन भन्छ– राजनीतिक घटना होइन

यसैवीच संखुवासभा जिल्ला प्रशासन कार्यालयले भने यो घटना ‘राजनीतिक’ नभई ‘पारिवारिक’ भएको दाबी गरेको छ ।

हत्या भएको सत्य भए पनि यसको यथार्थ के हो भन्नेबारे प्रहरीले रिपोर्ट तयार पारिरहेको सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए ।

तपाईंको बिचार