Sunday, November 19, 2017

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एक गम्भीर

प्रकाशित मिति: 2017/06/21

असार ७, खोटाङ । नेकपा एमाले खोटाङका कार्यकर्ताको घरमा बम बिस्फोट भएको छ । 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको हो ।
नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन् । उनको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताए ।
शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् ।
चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो ।

उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको हो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रजिअ प्रल्हाद पोखरेलले बताए ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

तपाईंको बिचार