Friday, July 28, 2017  |    

प्रदेश नं. १ मा ३३ हजार प्रहरी परिचालन गरिने

प्रकाशित मिति: 2017/06/22

असार ८, विराटनगर । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तह चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ ।

सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिने छन ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईका अनुसार स्थानीय तहको चुनावको सुरक्षाका लागि नेपाल प्रहरीको संख्याको अनुपातमा म्यादी प्रहरीको संख्या बढी हुने छ ।
पूर्वाञ्चलमा १३ हजार प्रहरी रहेकोमा चुनावको समयमा अन्य क्षेत्रबाट थप प्रहरी प्रदेश नं. १ का जिल्लामा परिचालन गरिने छ ।

जिल्ला सुरक्षा समितिले भनेको खण्डमा यो संख्या भने बढ्न सक्ने उनको भनाइ छ ।
दोस्रो संविधानसभाको चुनावमा पूर्वाञ्चलमा चुनाव सुरक्षाका लागि १० हजार ६३ जना नेपाल प्रहरी र करिव १२ हजारको संख्यामा म्यादी प्रहरी परिचालित गरिएको थियो ।
कुल १३ हजार प्रहरी रहेकोमा २५ प्रतिशत प्रहरी कार्यालय सुरक्षामा राखिने छ ।
केन्द्रीय सुरक्षा रणनीति अनुसार निर्वाचनको मतदान केन्द्रको पहिलो घेरा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।
त्यसैगरी दोस्रो र अन्तिम घेरामा क्रमश सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिने छ ।

तपाईंको बिचार