Sunday, November 19, 2017

साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने

प्रकाशित मिति: 2017/07/10

असार २६, काठमाडौं । निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। 

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको हो । फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्छ। यसअघि फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले भने नाम लेखाउनुनपर्ने जनाईएको छ। सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगरुन्जेल मतदाता नामावली अद्यावधिक हुनेछ।

मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन्। स्थानीय तहको निर्वाचनका लागि गत फागुन ९ गतेसम्म अन्तिम हो। त्यति बेला नाम लेखाएका २ नम्वर प्रदेशका मतदाताले मात्रै स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदान गर्न पाउँने छन् । अब नाम लेखाउने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हो। 

तपाईंको बिचार