Saturday, November 18, 2017

पर्यटकीय नगरी सौराहमा बाढी पस्यो

प्रकाशित मिति: 2017/08/13

साउन २९, चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । शनिबार साँझदेखि राप्ति किनारका रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् ।

कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानको छन् । सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको बताइएको छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको जनाएका छन् । सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको छ । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

यस्तै राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी जनाएका छन् । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरणको छ । नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

तपाईंको बिचार