Saturday, November 18, 2017

उम्मेद्वारी दर्ता गर्न आयोगको आह्वान

प्रकाशित मिति: 2017/09/05

भदौ २०, काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा असोज दुईको स्थानीय तह निर्वाचनका लागि भोलि हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन दलहरुलाई आह्वान गरेको छ।

प्रदेश नम्बर दुईको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारीमा आयोगले पत्रकार सम्मेलन गरी दलहरुलाई उम्मेद्वारी मनोनयनमा सहभागी हुन आह्वान गरेको हो।  ‘प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिन उत्साहपूर्वक उम्मेद्वारी दर्ता गराउन दलहरु र उम्मेद्वारहलाई आग्रह गर्दछौं’ प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भने । ‘पहिलो र दोस्रो चरणमा भएका निर्वाचन उत्साहपूर्ण भएका थिए। हामीले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचन थप उत्साहपूर्ण हुने अपेक्षा गरेका छौं।’

प्रमुख आयुक्त यादवले प्रदेश नम्बर दुईमा सबै दल निर्वाचनमा सहभागी हुन लागेकाले आयोग हर्षित भएको बताए। प्रदेश नम्बर दुईका १३६ स्थानीय तहमध्ये एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्। 

कुल ६ हजार ६ सय २७ जना निर्वाचित हुने निर्वाचनका लागि भोलि बिहान १० बजेदेखि ५ बजेसम्मको समयावधी तोकेको छ। 

निर्वाचन आयोगले बाढी र कटानका  कारण क्षतिग्रस्त भएका सडक सरकारले निर्वाचन प्रयोजनका लागि आवागमन गर्न सक्ने बनाएको पनि जानकारी दिएको छ। प्रमुख आयुक्त यादवले आचारसंहिताको पालना गर्न उम्मेदवारलाई आग्रह गर्दै आचारसंहिता उलंघन गरे उम्मेदवारी नैं खारेज हुने चेतावनी दिए। 

‘आयोगले आचारसंहिता पालना गर्न गराउन कठोर निर्णय लिनुपरे पनि कानुनको परिधिभित्र रहेर गर्ने छ,’ यादवले भने, ‘गैरकानुनी ढंगले कसैले उम्मेदवारी दिए त्यस्तो उम्मेदवारी खारेजीसम्म गर्ने अधिकार कानुनले आयोगलाई दिएको छ।’

तपाईंको बिचार