Saturday, November 18, 2017

काठमाडौंको फोहोर अब बन्चरे डाँडामा

प्रकाशित मिति: 2017/09/26

काठमाडौं । काठमाडौं महानगरपालिकाले यसअघि सिसडोलमा फोहोरको व्यवस्थापन गर्दै आएकोमा अबदेखि नुवाकोटको वन्चरे डाँडामा फोहोर संकलन केन्द्र बनाउने बताएको छ ।

नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहोर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिए । उनका अनुसार वनचरीमा फोहोर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ । अब कामपाको फोहोर संकलन गर्ने स्थान नुवाकोटको वनचरे नै हो ।

केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहोर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन । आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहोर फाल्न सहमति गरेको थियो ।

फोहोर फाल्ने सहमति भएको समय सकिँदा पनि कामपाले अन्य स्थानमा फोहोर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन् । कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ । अबको केही समयमा नै कामपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहोरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ ।

कुहिने फोहोरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहोरमात्र कामपाले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पारिन् । कामपाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहोर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताइन् ।

तपाईंको बिचार