Saturday, November 18, 2017

दशैं मानेर चार लाख यात्रु उपत्यका भित्रिए

प्रकाशित मिति: 2017/10/06

काठमाडौं । दशैं मानेर काठमाडौं फर्किने क्रम बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज १४ गते विजया दशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौं भित्रिसकेका छन्। 

 विजया दशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७६५, चर्तुदशी ९० हजार १०० र कोजाग्रत पूर्णीमाका दिन ८९ हजार २९० यात्रु भित्रिएका छन्। महाशाखाका  प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता उमेश रञ्जितकारले गत वर्षको तुलनामा यस वर्ष कोजाग्रत पूर्णीमाको दिनसम्म कम यात्रु उपत्यका भित्रिएको बताए। 
 
दशमीदेखि पूर्णीमासम्म कम दिन कार्यालय सञ्चालन, दशैँ र तिहारको बीचमा स्कुल तथा कलेज बिदा भएका कारण उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको हो, प्रवक्ता रञ्जितकारले भने।  दशैँ मनाउनका लागि काठमाडौँबाट निजी तथा सार्वजनिक यातायातमा २० लाखको हाराहारीमा यात्रु बाहिरिएका थिए।  यस्तै यो वर्ष काठमाडौं उपत्यकामा दशैँको बेलामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ। गत वर्ष १० जनाले ज्यान गुमाएकामा यो वर्ष चार जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ। –रासस 

तपाईंको बिचार