Saturday, November 18, 2017

देशभर छठ पर्वको उल्लास, छठ पर्व के हो र किन मनाइन्छ

प्रकाशित मिति: 2017/10/26

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । 

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । 
 
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । 

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिने विधिविधान रहेको छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । 

कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । 

तपाईंको बिचार