Saturday, November 18, 2017

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नमूना निर्वाचनका रुपमा काम गर्ने : प्रमुख आयुक्त

प्रकाशित मिति: 2017/11/03

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल तुल्याउन निर्वाचन आयोग अर्जुनदृष्टिका साथ काम गरिरहेको बताएका छन् । 

राजनीतिक दल सम्बद्ध युवाका लागि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले पहिलो चरणको निर्वाचनको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम सुरु भएको हुँदा निर्वाचन कार्यक्रम मतदान केन्द्र केन्द्रित भइसकेको जानकारी दिए। 

यादवले भने,‘उम्मेदवारी मनोनयन कार्य उल्लासपूर्ण रुपमा भएको छ, जसरी पवित्र भावना लिएर मनोनयनमा दर्तामा संलग्न हुनुभएको छ, त्यसरी नै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिताको पालना होस् । भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस्।’

स्वच्छ, स्वतन्त्र, मितव्य र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै यादवले आगामी निर्वाचनमा अचारसंहिताको उल्लंघन गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिए। 

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलले सरकार हाक्ने जिम्मेवारी पाएमा त्यसबाट न्याय र सदाचारको के अपेक्षा गर्न सकिएला भन्दै निर्वाचनको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलले यो कुरालाई राम्रोसँग हेक्का गर्न आवश्यक रहेको बताए। –रासस

तपाईंको बिचार