Saturday, November 18, 2017

८८ किलो सुनकाण्डका अभियुक्तविरुद्ध साढे ४३ करोडको बिगो माग

प्रकाशित मिति: 2017/11/03

काठमाडौं । महानगरीय प्रहरी परिसरको अपराध अनुसनधान तथा कारवाही शाखाले अबैध ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न भनिएका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

उक्त प्रकरणका अभियुक्तविरुद्ध ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । महानगरीय अपराध महाशाखाले गत १९ भदौमा केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो ।

परिसरले शुभरत्न शाक्य, गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ र ल्याक्पा ग्याल्जोङविरुद्ध परिसरले मुद्दा दायर गरेको हो । त्यस्तै, चिनियाँ नागरीक याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामाविरुद्ध पनि परिसरले मुद्दा दायर गरेको छ । यी चार जना भने फरार छन् ।

तीन जना ड्राइभरलाई भने परिसरले निर्दोष ठहर्‍याएको छ । अन्य चार जना चिनियाँको भने परिचय खुल्न सकेको छैन । पहिचान खुलेपछि उनीहरूविरुद्ध पनि मुद्दा चलाइने परिसरले जनाएको छ ।

तपाईंको बिचार