Wednesday, January 17, 2018

पहिलो चरण निर्वाचनका लागि ३२ जिल्लाका ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता

प्रकाशित मिति: 2017/11/26

काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी छ । ३२ जिल्लामा जारी पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस निर्वाचनमा दुई हजार ९ सय १९ मतदान स्थल र चार हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान ७ बजेबाट शुरु भएको मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर मतदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।

अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हँुदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन आयोगले मतदातालाई आह्वान गरेको छ ।

तपाईंको बिचार