Monday, June 25, 2018

विराटनगरका सबैभन्दा ठूला हुन्डी कारोबारी पक्राउ परेपछि अहिले कारोबार ठप्प

प्रकाशित मिति: 2017/11/29

विराटनगर । दैनिक करिब २५ करोड रुपैयाँभन्दा बढि हुने हुन्डी कारोबारी अनूपचन्द शेठिया र उनको समूह ठगीमा पक्राउ परेपछि विराटनगरका अन्य हुन्डी व्यवसायीले कारोबार बन्द गरेका छन् । 

अनूपचन्द विराटनगरका सबैभन्दा ठूला हुन्डी कारोबारी थिए । भाइबरबाट चिट्ठा पर्यो भन्दै सोझासाझा जनतासँग रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेपछि अन्य साना हुण्डी कारोबारीले  कारोबार बन्द गरेका हुन् । सेठिया र उनको समूहलाई प्रहरीले गत मंसिर १ गते पक्राउ गरेको थियो । सेठिया पक्राउ पर्नुअघि नै पुराण लगाउन भारतको राजस्थान गएका सुरेन्द्र शर्मा अझै विराटनगर आइपुगेका छैनन् । शर्माको संचालन गरेको विराटनगर मेनरोडमा रहेको ग्लोबल मनी चेन्जरमा भारुनेरुको सटही भइरहेको छ तर हुन्डीको कारोबार ठप्प छ ।

त्यस्तै अर्का हुन्डी कारोबारी प्रमोद राठीले पनि आफ्नो कारोबार बन्द गरेका छन् । एक वर्षयता हुन्डी व्यवसायलाई घटाउँदै रेल तथा हवाई टिकटको कारोबारमा संलग्न राठीले सेठियाको पक्राउपछि हुन्डी कारोबार रोकेका हुन्। राठी मंसिर १ गतेदेखि सम्पर्कमा छैनन्।विराटनगरको रेनबो गल्लीमा सटही काउन्टर खोलेर बसेका रानू अग्रवाल यहाँका अर्का हुन्डी व्यवसायी हुन् । भारतका मुख्य बजारमा मात्र ससानो रकमको हुन्डी गर्ने रानूले पनि हुन्डीको काम बन्द गरेका छन् । उनी पनि दुर्इ हप्तादेखि कसैको सम्पर्कमा छैनन् ।

विराटनगरमा हुन्डी व्यवसाय बन्द भएपछि आयातनिर्यातको कारोबार गर्नेलाई अप्ठ्यारो भएको छ । विशेषतः नेपालको रकम भारत पुर्‍याउने र न्यून विजकीकरणमा चीनबाट मालसामान आयात गर्नेले हुन्डीबाट रकम स्थानान्तरण गर्न पाइरहेका छैनन् ।हुन्डीबाट चीन रकम पठाउनेहरूले विराटनगरका हुन्डी कारोबारीलाई रकम दिने र त्यो रकम काठमाडौं वा कोलकाता हुँदै चीन पुग्ने गरेको स्रोतले बतायो । तर विराटनगरमै हुन्डी कारोबार बन्द भएपछि व्यवसायीले काठमाडौं ताक्न थालेका छन् ।

तपाईंको बिचार