Monday, December 10, 2018

नेपाल देखि बेल्जीयम र अफ्रिकी मूलक तान्जानियासम्म दाहाल दम्पतिको स्यवंसेवी यात्रा

प्रकाशित मिति: 2017/12/01

काठमाडौं । बलियो इच्छाशक्ति र अठोट हुने हो भने कुनै पनि काम असम्भव  छैन । चाहे त्यो मानिसको कमजोर आर्थिक अवस्था या भुगोलको दुरि नै किन नहोस् यही भनाईलाई चरितार्थ गर्न सफल भएका छन् गैरआवासिय नेपाली संघ बेल्जीयमका अध्यक्ष लोकप्रसाद दाहाल ।

नेपालबाट रोजगारीको सिलसिलामा आज भन्दा २० वर्ष अघि बेल्जीयम गएका एनआएनए बेल्जीयमका अध्यक्ष लोकप्रसाद दाहाल अहिले बेल्जीयमबाट सामाजिक कार्यका लागि अफ्रीकी मूलक तान्जानियमा पुगेका छन् ।  निरन्तर नेपालमा समाजसेवामा सक्रिय दाहाल दम्पति एक टोली लिएर अफ्रिकी मूलुकमा समाज सेवा र स्वयंसेवा गर्न पुगेका हुन् ।

दाहाल दम्पत्ति नेतृत्वको टोली अत्यन्त गरिबीले आक्रान्त मूलुक तान्जानियाको ग्रामीण बस्तीमा रहेको एउटा विद्यालयको पुननिर्माण, मर्मत सम्भार र विद्यार्थीहरुको स्वास्थ्य परिक्षणको लागि त्यहाँ पुगेको हुन । दुई हप्ते बसाईको कार्यतालिका बनाएर तान्जानिया पुगेको उक्त टोलीमा केही चिकित्सक र युवाहरुको टोली पनि छ । 

दाहालका अनुसार बेल्जीयमको फ्रम पिपल टु पिपल कार्यक्रमको चिकित्सक र प्राविधिक समुहले उक्त अभियानमा सहभागिता जनाएको हो । आफ्नै खर्चमा स्वयंसेवा गर्न हिँडेको उक्त टोलीले तान्जानियामा रहेको बेल्जीयमकै टिमले निर्माण गरेको विद्यालयको भत्किएका भित्ताहरु, उप्कीएको रंग र विग्रीएका फर्निचर र संरचनाको जिर्णोद्धार गरिरहेका छन् ।
आफैंले खाजा र खानाको समेत व्यवस्था गरेर काममा खटिएका उनीहरुले विद्यालयमा सरसफाई, रंगरोगन गरिहेका छन् । उनीहरुले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत प्रदान गरेका छन् ।

बेल्जीयमले निर्माण गरिदिएको उक्त विद्यालयमा १५ सय जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । फ्रम पिपुल टु पिपुल कार्यक्रमले अफ्रिकी मूलुक लगायत बंगलादेश, म्यानमार, पाकिस्तान, इन्डोनेशिया, फिलिपिन्समा यस्ता खालका स्वयंसेवाका कार्यहरु गर्दै आएको छ । दाहालका अनुसार अब नेपालमा पनि उक्त टिमले शिक्षा र स्वास्थ्यसँग सम्वन्धित स्वयंसेवाको अभियान लिएर छिट्टै आउनेछ ।
उनले आफूले नेपालको ग्रामिण र पिछडिएको क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्ने उद्धेश्य राखेको बताए । 

यस अघि नेपालमा आएको महाविनाशकारी भुकम्प पछि दाहालकै नेतृत्वमा पुननिर्माणका दर्जनौं कामहरु भएका छन् भने आगोले जलेर मराणासन्न अवस्थामा पुगेको राउटे युवाको कुशलता र सफलतासाथ उपचार गर्ने र ज्यान बचाउने कार्य पनि दाहालकै नेतृत्वमा भएको थियो ।
 
नेपालका थुप्रै समाजसेवा र परोपकारी कार्यमा सहभागि दाहाल सपरिवार बेल्जीयममा बस्दै आएका छन् । उनले बेल्जीयममा व्यवसायबाट गरेको आम्दानीको हिस्सा नेपालको विकास र समाजसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । धादिंग स्थायी घर भएका उनको यस अभियानमा उनकी श्रीमतीको पूर्ण साथ रहेको छ । सोही कारण उनी पनि पतिसँगै बेल्जीयममबाट अफ्रिकी मूलुक तान्जानियामा स्वयंसेवा गर्न पुगेकी छिन् ।
दाहाल दम्पत्तिको यस कार्यलाई धेरैले प्रसंसा गर्दै दाहालको फेसबुक स्टाटसमा कमेन्ट र शुभकामना व्यक्त गरेका छन् । 
  

 

तपाईंको बिचार