Wednesday, January 17, 2018

गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेत प्रहरीद्वारा सार्वजनिक

प्रकाशित मिति: 2017/12/03

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने गिरोहका मुख्य आरोपी समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्यूरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार मानिएका बस्नेत चितवनबाट १६ मंसीरमा पक्राउ परेको बताए । यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो ।

२३ असोजमा काठमाडौंको शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई ब्यक्तिले गोली हानेका थिए ।आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले मुख्य सुटर भनिएका नुवाकोट पञ्चकन्या गाउँपालिका १ का २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ का शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

तपाईंको बिचार