Wednesday, January 17, 2018

लोडसेडिङ नहुने कुलमानद्वारा जानकारी

प्रकाशित मिति: 2017/12/21

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले अहिले देशमा घोषित तथा अघोषित दुवै खालको लोडसेडिङ नभएको बताएको छ । केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएकोमा त्यसलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको भनेर गलत प्रचार गरिएको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको छ ।

प्राधिकरणका अनुसार हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको विद्युतभार कटौती भएको छैन ।

कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारण कहिं कतै केही समयसम्म विद्युत आपूर्तिमा अवरोध आएको भएपनि विद्यत्भार कटौती गर्ने र हुने कुरा सोच्न पनि नसकिने स्पष्ट पारे । समस्या देखिएका स्थानमा समेत प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति गरिरहेको जानकारी दिदै घिसिङले विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सुदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।

हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने गरेको स्पष्ट पार्दै उहाँले यही समयमा विद्युत माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

चुनौती भएपनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र आम ग्राहकलाई उज्यालो दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले जनाएको छ ।

 

तपाईंको बिचार