Sunday, August 25, 2019

प्रमुख अतिथि नबनाइको भन्दै पत्रकारमाथि तथानाम गाली

प्रकाशित मिति: 2018/09/29

 दक्षिण कोरिया । दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंह नेपाल पत्रकार महासंघको कार्यक्रममा असभ्य हर्कत गरेका छन् । राजदूत सिंहले आफूलाई प्रमुख अतिथि नबनाइएको भन्दै आयोजक माथि तथानाम गाली गरे मात्रै गरेनन् कार्यक्रम समेत बहिस्कार गरे ।
राजदूत अर्जुन जंगबहादुर सिंह


नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको छैठौं अधिवेशन सेप्टेम्बर २५ तारिखमा आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपालबाट आई पुगेका थिए, नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य । कोरियामा अध्यक्ष आउदैं गरेको प्रचार अधिवेशन अघि नै थियो । कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष आचार्य नै हुने सबैलाई जानकारी थियो ।

कार्यक्रममा राजदूत सिंहलाई पनि विशेष अतिथिको रुपमा निम्तो दिइएको थियो । कार्यक्रमको दिन राजदूत सिंहले आफूलाई आउन अलि ढिलो हुने तर आउने बताएका थिए । राजदूत कार्यक्रम सुरु भएको करिब २ घन्टापछि कार्यक्रम स्थलमा आए । उनलाई विशिष्ठ अतिथिका रुपमा ब्याच प्रदान गरिएको थियो । यसपछि सुरु भयो सिंहको हर्कत ।

यस लगत्तै राजदुत सिंहले आफु ढिलो आएपनि आफू नै प्रमुख अतिथि हुनुपर्ने भन्दै हर्कत सुरु गरे । त्यतिमात्रै होइन नेपालबाट आएका नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यमाथि समेत उनी खनिए । उनले भने, ‘मेरा सामुन्ने तिमीहरु पत्रकार होइनौ, पितकार हौ प्रोटोकल नजान्ने पत्रकार हुन्नन् ।’

राजदूत सिंह यसरी असम्भ रुपमा निरन्तर आयोजक माथि खनिएपछि सहभागीहरु पनि छक्क परेका थिए । कार्यक्रममा सन्नटा जस्त छाएको थियो । लज्जाजनक शैलीमा एकोहोरो खनिएका राजदूतले पत्रकारहरुलाई गाली मात्रै गरेनन् यस्तो गरे ठिक नहुने धम्की समेत दिए ।

राजदूत पत्रकारहरुलाई तथानाम गाली गरेपछि अब आउने दिनमा पनि यस्तो गल्ती गरे ठिक नहुने धम्की समेत दिए । उनले आफुबाहेक अर्को व्यक्ति प्रमुख अतिथि हुनै नसक्ने र त्यस्तो कार्यक्रममा आफनो अपमान हुने दाबी गरे ।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीकालमा नेपाली कांग्रेसको कोटाबाट गत बर्ष जेठमा उनी दक्षिण कोरियाका लागि राजदुतमा नियुक्त भएका थिए । वर्तमान केपी ओली नेतृत्वको सरकारले कार्यक्षमतामा समस्या भएको भन्दै राजदूत सिंहलाई फिर्ता बोलाउने निर्णय यस अघि नै गरिसकेको छ ।

यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राजदूतजस्तो अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाट नै राज्यको चौथो अंगमाथि भएको यस्तो घृणित क्रियाकलापले आफुलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् ।

उनले कोरियामा दूतावासबाटै पत्रकारलाई धम्की आउने गरेको बारेमा केन्द्रलाई जानकारी भएको समेत बताए । अध्यक्ष आचार्यले राजदूतको यो किसिमको घृणित रबैयाको लिखित रुपमा परराष्ट्र, गृह एवम् प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने बताए ।

तपाईंको बिचार