Sunday, August 25, 2019

विद्युतीय रेलमार्ग` निजगढ हुँदै काठमाडौं आउने

प्रकाशित मिति: 2018/09/30

काठमाडौं ।  विद्युतीय रेलमार्ग पनि निजगढ हुँदै काठमाडौं आउने भएको छ । रेल विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गलाई जितपुरबाट सिमरा एयरपोर्ट हुँदै निजगढ ल्याउन लागेको हो ।

हाल भारत सरकारले यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिरहेको छ । ‘पर्सावन्यजन्तु राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज काठमाडौं रेलमार्गलाई जितपुरबाट निजगढ ल्याउन लागेका हौं, फास्ट ट्रयाक आसपासबाटै त्यसको अलाइनमेन्ट बन्न सक्छ’, रेल विभागका महानिर्देशक बलराम मिश्रले  भने । सो रेलमार्ग काठमाडौंको चोभारमा जोडिनेछ ।

यस अघि अर्थमन्त्री डा। युवराज खतिवडाले पनि वीरगञ्ज काठमाडौं रेलमार्ग र फास्ट ट्रयाक दुबैलाई चोभारमा जोड्ने बताएका थिए । ‘फास्ट ट्रयाकलाई चोभार जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, भविष्यमा निर्माण हुने वीरगञ्ज–काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले भनेका थिए ।

वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग भारत सरकारले अनुदानमै निर्माण गरिदिने आश्वासन दिएको छ । १०० किलोमिटर भन्दा कम दुरीको हुने अनुमान गरिएको वीरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गलाई कार्गो बोक्ने क्षमतामा निर्माण गरिनेछ । केरुङबाट काठमाडौं आउने रेलमार्ग टोखामा आउनेछ । सो रेललाई पनि चोभारसम्म पुर्याएर चीन र भारतीय रेलवे नेटवर्कलाई जोडिने महानिर्देशक मिश्रले बताए ।

विभागले पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका कारण सिमरादेखि नवलपरासीको तम्सरियासम्मको रेलवे लिंकका लागि नयाँ डीपीआर बनाउने तयारी पनि थालेको छ ।

 

तपाईंको बिचार