Sunday, August 25, 2019

एकातिर सम्पदाका चित्र र नक्सा अर्कोतिर पुनर्निर्माण

प्रकाशित मिति: 2018/10/02

प्रुसियाका राजकुमार वाल्डमार सन् १८४५ फेब्रुअरीमा नेपाल भ्रमणमा आएका थिए। उनको भ्रमण डायरीको नेपालको अध्यायमा संकलित रानीपोखरीको तत्कालीन चित्र। चित्रमा ‘रानी के ताल’ भनिएको छ।
प्रुसियाका राजकुमार वाल्डमार सन् १८४५ फेब्रुअरीमा नेपाल भ्रमणमा आएका थिए। उनको भ्रमण डायरीको नेपालको अध्यायमा संकलित रानीपोखरीको तत्कालीन चित्र। चित्रमा ‘रानी के ताल’ भनिएको छ।
सन् १८४५ फेब्रुअरीमा नेपाल आएका प्रुसियाका राजकुमार वाल्डमारको डायरीमा भेटिएको एउटा चित्रले रानीपोखरी पुनर्निर्माण अलमल्याइदिएको छ। पोखरीबीचमा हामीले देख्दै आएको बालगोपालेश्वर मन्दिरको स्वरुपलाई त्यो चित्रले बहसमा ल्याइदियो।
त्यो चित्रका अनुसार प्रतापमल्लले ३ सय ५० वर्षअघि रानीपोखरी बनाउँदा त्यहाँको मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा थियो। वाल्डमार नेपाल आएको १२ वर्षपछि प्रधानमन्त्री भएका जंगबहादुरले पुनर्निर्माण गर्दा युरोपेली प्रभावको गुम्बज शैलीमा उतारेछन्। ९० सालको भुइँचालोपछि जुद्धशम्शेरले केही सुधार गरे। त्यसपछि राजा वीरेन्द्रको राज्यारोहणबेला बज्रको संरचनामा केही कंक्रिट थप्ने काम गरियो।
तीन वर्षअघि भुइँचालोले बिगारेको रानीपोखरी अब बनाउँदा कुन शैली आधार मान्ने भन्ने अहिले मुख्य बहस चलिरहेको छ।
रानीपोखरीको बहसलाई यतै छाडेर हाम्रा सम्पदाहरूका यस्ता चित्रतिर प्रवेश गरौं।
हाम्रा कलात्मक सम्पदाको इतिहास जति पुरानो छ, त्यसको दस्तावेजीकरण क्रम उत्तिकै नयाँ। फोटोग्राफी त हामीकहाँ निकै पछि मात्र आएको हो। यस्तो अवस्थामा सम्पदाहरूको पुरानो आधार भनेकै चित्रकारहरूले तयार पारेको तिनका दृश्य हुन्।
यस्ता दृश्यमा अहिलेसम्म फेलापरेको सबभन्दा पुरानो चित्र हो सन् १६६७ को। अथनासियस किर्चरले त्यतिबेला प्रकाशित गरेको ‘चाइनाज् मेमोरेबल साइट्स’को दोश्रो भागअन्तर्गत चौथो खण्डमा एउटा तस्बिरमा शिर्षक छ ‘म्यान इन ड्रेसेज अफ द किंगडम अफ नेक्बाल’ (नेपाल अधिराज्यको पहिरनमा पुरुषहरू)।
त्रमा तीन पुरुष देखिन्छन् भने पृष्ठ भागमा काठमाडौं उपत्यकाका मौलिक घर, केही टेन्ट र एउटा मन्दिरको माथिल्लो भाग।
काठमाडौं उपत्यकाको मौलिक परिवेश झल्काउने सन् १६६७ को चित्र। यो अिहलेसम्म फेला परेको सबभन्दा पुरानो चित्र हो।
लामो समयदेखि नेपालमै बसेर हाम्रा सम्पदाको चित्र र नक्साको संकलन गर्दै आएका जर्मन वास्तुशिल्पी निल्स गुत्सवले तीन वर्षअघि मात्र तयार पारेको संग्रह ‘नेपालिकभूपवंशावली’मा यसको वर्णन छ। किताबले मञ्जुश्रीदेखि राजा सुरेन्द्रविक्रम शाहको पालासम्म नेपालको इतिहास उल्लेख गर्छ।
तीन खण्डमा आएको किताबमध्ये ‘म्याप्स एण्ड हिस्टोरिकल इलुस्ट्रेसन्स’ यस्तै ऐतिहासिक चित्र र नक्साहरूको संग्रह हो। त्यसमा दृश्यहरू प्रस्तुत गर्दै गुत्सवले जानेसम्मका वर्णन पनि उल्लेख गरेका छन्।
किताब सन् १८४४ देखि १८५७ को बीचमा बनाइएका चित्रहरूको संग्रह हो। यसमा विशेषगरी राजमानसिंह चित्रकार र हेनरी ओल्डफिल्डका काम देखिन्छन्। राजमानसिंहलाई तत्कालीन बेलायती राजदूत ब्रायन हड्सनले परिचालन गरेका थिए। ओल्डफिल्ड दूतावासमै चिकित्सक रुपमा खटिएर आएका थिए। उनले स्वेच्छाले यहाँका सम्पदाको चित्र तयार पारेका थिए।
क्यामरा भित्रिनुअघि सिसाकलम र पानीरंगले बनाइएका तत्कालीन नेपाल चिनाउने यी चित्र अहिले बेलायतकै संग्रहालयहरूमा छन्। त्यसका केही उतारहरू मदन पुस्तकालयको संग्रहमा छ।
विदेशीहरू आएर नेपालका महत्वपूर्ण सम्पदाको चित्र बनाउने र त्यसको नापजाँच गरेर नक्सा तयार पार्ने काम त्यसपछि पनि जारी रह्यो।
नेपालभित्रै भेटेसम्मका त्यस्ता चित्र र नक्सा पछिल्लो समय तारागाउँ संग्रहालयले संग्रह गर्दै आएको छ।
भुइँचालोले हाम्रा थुप्रै संरचना क्षतिग्रस्त बनाएको छ। कतिपय ध्वस्तै भए। यस्तो बेलामा ती संरचना उभ्याउनुअघि ती विदेशीहरूले बनाएका महत्वपूर्ण चित्र र नक्साको खोजी अहिले कति भइरहेको छरु
यी दुवै पुस्तकालय र संग्रहालयका सञ्चालक भन्छन्– ‘ठ्याम्मै छैन।’
‘सीमित भए पनि हामीसँग भत्किएका महत्वपूर्ण सम्पदाका चित्र वा नक्सा संकलनमा छन्,’ मदन पुस्तकालयका कनकमणि दीक्षित र तारागाउँका निर्देशक रोशन मिश्र दुवै भन्छन्, ‘पुनर्निर्माण क्रममा सरकारी निकायबाट त्यस्ता चिजको सोधिखोजी आजसम्म गरिएको छैन।’
अहिले पुनर्निर्माण कसरी गरिँदै छ त
‘इभिडेन्सका रुपमा हामीसँग केही तस्बिर थिए,’ पुरातत्व विभागका इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ भन्छन्, ‘त्यसबाहेक भूकम्पलगत्तै हामीले कन्सल्ट्यान्टहरू नियुक्त गरेर तयार पार्न लगाएको भत्किएका संरचनाको नक्सा नै मुख्य आधार हो।’
विदेशीहरूले तयार पारेका उतिबेलाका यी संरचनाको चित्र वा नक्सालाई ‘रिफरेन्स’ रुपमा पनि प्रयोग नगरिएको र विभागसँग हाल त्यस्ता कुनै सामग्री उपलब्ध नरहेको श्रेष्ठले स्पष्ट पारे।
यसरी पुनर्निर्माण निम्ति प्रयोगमा आउन नसके पनि उतिबेला आएका विदेशीले तयार पारेका ती दृश्यले हामीलाई पुरानो संरचनाको याद भने दिलाइरहने छन्।
दीक्षित आफैं संलग्न एउटा मन्दिरको पुनर्निर्माण भने त्यस्तै पुरानो चित्रका आधारमा गरिएको छ– पाटन दरबार परिसर छेउमा रहेको भाइदेगा मन्दिर।
९० सालको भुइँचालोपछि दरबार परिसरका अन्य मन्दिर लाई यथावत उभ्याउने काम भएको थियो। तर जनताको छोराले बनाएको एउटै त्यो भाइदेगा मन्दिरलाई पुरानो स्वरुपमा ढालिएन। भत्केको ठाउँमा केवल बज्र प्रयोग गरेर एउटा मुगल शैलीको गुम्बज आकृति खडा गरियो। सेतो थुप्रोजस्तो।
त्यही स्थानमा पुरानै स्वरुपमा भाइदेगा मन्दिर उभ्याउन हेनरी ओल्डफिल्डले तयार पारेको चित्र नै सबभन्दा सहयोगी सामग्री रुपमा प्रयोग गरिएको पुनर्निर्माणमा संलग्न दीक्षित बताउँछन्।
‘ओल्डफिल्डले उतिबेलै भाइदेगा मन्दिरको फराकिलो र अत्यन्त सुक्ष्म गरेर थुप्रै चित्र कोरेका थिए,’ दीक्षित भन्छन्, ‘त्यसैका आधारमा पुरानो स्वरुपमै मन्दिर उभ्याउन सकिरहेका छौं।’
यो मन्दिर निर्माणाधीन छ।
‘नेपालमा ल्याण्डस्केप र भवनहरू दुरुस्त उतार्ने काम हाम्रो परम्परा होइन,’ दीक्षित भन्छन्, ‘हामीकहाँ पौभा, थांका, मूर्तिदेखि काष्ठकलासम्मका केवल धार्मिक संस्कारसँग जोडिएका काम मात्र हुँदै आएका छन्।’
अर्थात् हाम्रा पूर्खाले पूजा गर्ने सुन्दर चिज त बनाउँदै आए। तर, त्यसको चित्र तयार पारेर दस्तावेजीकरण गर्ने परम्परा हाम्रो रहेन। यस्ता दृश्यहरूबाट मख्ख परेर त्यसलाई चित्रांकन वा नक्सांकन गर्ने काम पछि आएका विदेशीहरूले थाले।
यो काममा हात हाल्ने सबभन्दा पुराना नेपाली ल्याण्डस्केप कलाकार राजमानसिंह चित्रकार नै हुन्। बेलायती दूत हड्सन्को निर्देशनमा सन् १८४४ देखि १८५७ सम्म उनले त्यस्ता चित्र बनाएका थिए। राजमानसिंह बाहेकका भने पश्चिमाहरू मात्रै देखिन्छन्।
यस्ता चित्रमा कलाकारले गरेको मिहेनत र वरपरका पहाडहरू कति सही ठाउँमा र दुरुस्त उभिएको छ भन्ने आधारमै आधिकारिकता अनुमान गर्ने गरिएको दीक्षित सुनाउँछन्।
‘जस्तो कि वाल्डमारले ‘रानीके ताल’ भन्दै बनाएको चित्रमा नागार्जुनको अवस्थिति र काठमाडौंको स्काइलाइन ओल्डफिल्डका सिर्जनामाभन्दा दुरुस्त देखिन्छ,’ दीक्षित भन्छन्, ‘त्यसले मन्दिरको संरचना पनि उतिबेला त्यही थियो भनेर पत्याउन बढी सघाउँछ।’
यति भन्दाभन्दै पनि रानीपोखरीबारे हाल चलिरहेको बहसमा भने आफू अलग रहेर विज्ञहरूले निकाल्ने निश्कर्षकै पक्षमा रहने दीक्षित प्रष्ट पार्छन्।
हाम्रा सम्पदाको पहिलो तस्बिर खिच्ने क्यामरा सन् १९१७ तिर अर्थात् ठीक सय वर्षअघि मात्र उपत्यका प्रवेश गरेको थियो। अष्ट्रियाको संग्रहालयमा रहेका ती तस्बिरमध्ये केही पाटन दरबारस्थित संग्रहालयमा देख्न सकिन्छ।
पचास दशकपछि आएका विदेशीले गरेका काम भने कतिपय नेपालमै उपलब्ध थियो। यिनलाई तारागाउँ संग्रहालयले सुरक्षित राख्न सुरु गरेको यसका निर्देशक रोशन मिश्र बताउँछन्।
‘सम्पदाका नक्सा, आर्किटेक्चर ड्रइङ, तस्बिर र स्केच संग्रहालयले सुरक्षित तवरबाट राखेको छ,’ मिश्र भन्छन्, ‘हाम्रो संग्रहालयको विशेषता नै आर्किटेक्चरल डकुमेन्टेशन (वास्तुशिल्पको दस्तावेजीकरण) हो।’
संग्रहालय खुलेको चार वर्ष अवधिमा आफूहरूसँग झन्डै पचास हजार सामग्री संकलनमा आइसकेको उनले बताए। संकलित सामग्रीमध्ये अस्सी प्रतिशत प्रदर्शन निम्ति व्यवस्थित गर्न बाँकी रहेको उनले जानकारी दिए।
तीमध्ये पनि गत भुइँचालोमा ध्वस्त भएका काष्ठमण्डप र बुंगमतीस्थित रातोमच्छिन्द्रनाथ मन्दिरका दस्तावेजमा मिश्र जोड दिन्छन्। उनका अनुसार यी दुवै संरचनाको विस्तृत नक्सा उनको संग्रहालयमा छ जसलाई पुनर्निमाणमा खासै महत्व दिइएको छैन।
‘सत्तरी दशकतिर जर्मन वास्तुशिल्पी उल्फ क्याङ कोनले काष्ठमण्डपमा चढेरै त्यसको इन्च–इन्च नाप्दै बनाएको आर्किटेक्चरल नक्साको मूलकपी हामीसँग छ,’ मिश्र भन्छन्, ‘त्यसको उतार निकालेर पुरातत्व विभागमा लगेर बुझाउँदा पनि वास्ता गरिएन।’
जर्मन वास्तुशिल्पी उल्फ क्याङ कोनले सन् सत्तरी दशकतिर तयार पारेको काष्ठमण्डपको आर्किटेक्चरल नक्सा।
विभागका इञ्जिनियर पूर्णबहादुर श्रेष्ठका अनुसार आफूहरूसँग त्यस्तो कुनै नक्सा अहिले छैन। जबकि विभागकै प्रमुख पुरातत्व अधिकृत डा। सुरेश सुरस श्रेष्ठ भुइँचालोलगत्तै त्यो नक्सा विभागमै ल्याएर बुझाइएको स्वीकार्छन्। तर, अहिले कहाँ राखिएको छ, श्रेष्ठलाई पनि थाहा छैन। इञ्जिनियरिङ शाखामा त यसबारे जानकारीसमेत छैन।
‘भत्किएको काष्ठमण्डपको त्यो नै एक मात्र ‘स्केल ड्रइङ’ हो,’ मिश्र भन्छन्, ‘जसले काष्ठमण्डपको सिँढी, झ्याल र प्रत्येक खम्बाको सुक्ष्म दस्तावेजीकरण गरेको छ। यसका बाबजुद बेवास्ता गरियो।’
त्यसैगरी बुंगमतीमा ढलेको रातो मच्छिन्द्रनाथको मन्दिर यतिबेला श्रीलंका सरकारले बनाउँदैछ।
‘सन् १९६८ मा तयार पारिएको बुंगमतीको प्रत्येक संरचनाका विस्तृत तथ्यांक हामीसँग सुरक्षित छ,’ मिश्र भन्छन्, ‘त्यसको सोधिखोजी अहिलेसम्म कसैले गरेको छैन।’
उनका अनुसार त्यतिबेला डेनमार्कबाट आएका आठ जना प्राविधिकको टोलीले त्यो नक्सा तयार पारेको थियो।
‘अहिलेकम्प्युटरमा उतारिनेजस्ता बहुआयामिक दृश्य देखाउने नक्सा आधा शताब्दी अगावै ती प्राविधिकले बनाएर गएका थिए,’ उनले भने, ‘बुंगमतीको मात्रै दस्तावेजले भरिएको एउटा ठूलो टिनको बाकसै हामीसँग छ।’
तीन वर्षअघि ती संग्रहको सार्वजनिक प्रदर्शन गरिएको थियो। उतिबेला आएका डेनमार्कका दुई जना प्राविधिक निम्त्याएर बुंगमतीमै केन्द्रित प्रदर्शनी गरेको मिश्र सुनाउँछन्। तै पनि यी सबै प्रयासलाई सरकारले पुनर्निर्माणमा कतै महत्व नदिएको उनले बताए।
यतिबेला बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ पुनर्निर्माण सम्हालिरहेका पुरातत्व विभागका इञ्जिनियर पूर्णबहादुर श्रेष्ठले भने आफूलाई डेनमार्कका ती प्राविधिकले गरेको कामको जानकारी नै नरहेको जवाफ  दिए।
भत्किनुअघिको फोटोग्राफी र भत्किसकेपछिको ‘प्लिन्थ डाइमेन्सन’ जस्ता आधार जम्मा गरेर र लगत्तै कन्सल्ट्यान्टले तयार पारेको नक्साबाटै रातो मच्छिन्द्रनाथको पुनर्निर्माण गरिरहेको श्रेष्ठले स्पष्ट पारे।
‘पुरातत्व विभागसँग हाम्रो कुनै सम्पर्क छैन,’ मिश्र भन्छन्, ‘उहाँहरूले गरिरहेको काम पूरै बेग्लै छ।’
यस्ता दस्तावेज संग्रहालयले अब सर्वसाधारणका निम्ति पनि खुला गरेको मिश्रले जानकारी दिए।
विदेशीले तयार पारेका दस्तावेजको कतै–कतै भने प्रयोग भइरहेको दीक्षित सुनाउँछन्। उनले ललितपुरको पिम्बहाः पोखरीको उदाहरण दिए।
‘त्यो पोखरीको बीचमा बज्रले बनेको राणाकालीन भवन थियो,’ दीक्षितले भने, ‘जबकि ओल्डफिल्डको चित्रमा त्यस्तो संरचना देखिएन। त्यसैले त्यो भवन हटाएरै पुनर्निर्माण गरिएको छ।’
त्यसबाहेक सत्तरी दशकदेखि नेपालमा सक्रिय जर्मन अन्वेषक गुत्सव र गोट्स् ह्यागमुलरका खोजीकै आधारमा भक्तपुरको च्यासलिन मण्डप पनि उभ्याइएको उनी सुनाउँछन्।
‘सम्पदाका निम्ति हामीले गर्न नसकेको काम यी दुई विदेशीले आधा शताब्दीदेखि लगातार तपस्वीले जस्तो गर्दिरहेका छन्,’ दीक्षित भन्छन्, ‘युरोपका धेरै महत्वपूर्ण स्थानसम्म पहुँच बनाएर उनीहरूले महत्वपूर्ण दस्तावेज ल्याइरहेका छन्।’
पुरानो संरचनालाई खासै महत्व नदिने हाम्रो बानी अनुसारै कुनै समय पाटन दरबार स्क्वायरमा लगभग सबैजसो भवनका छानामा औद्योगिक टायल राखिएको दीक्षित सुनाउँछन्। पछि यिनै विदेशीले ल्याएका चित्र र तस्बिरका आधारमा फेरि झिँगटी राख्ने काम भयो। अहिले मौलिकताको धेरै नजिक पुगेको उनले बताए।
यति हुँदाहुँदै पनि पुनर्निर्माणमा आफ्नै हिसाबले काम भइरहेका उनी बताउँछन्।
नेपाली चित्रकार राजमान सिंहले सन् १८४४ मा बनाएको काष्ठमण्डपको चित्र।
‘एक त यो हाम्रो सीप हो। र, अहिले पनि त्यो कसरी बनाउनु पर्छ भन्ने जानेका मानिस हामीसँग छन्,’ दीक्षित भन्छन्, ‘त्यसबाहेक धेरैजसो पुराना संरचना त यथावतै छन्। त्यसैलाई आधार मानेर पनि कतिपय काम हामी आफैं गर्न सक्छौं भन्ने कुरा पनि छ।’
अर्कोतिर विदेशीले तयार पारेका हाम्रा सम्पदाका दस्तावेज हाम्रानिम्ति बहुमूल्य सम्पत्ति भएकाले त्यसको उचित सम्मान हुनुपर्ने उनी औंल्याउँछन्।
जस्तो, भाइदेगा मन्दिर बनाउने बेला ओल्डफिल्डको चित्रले धेरै सघाएको थियो।
‘पाटन दरबारभित्र निकै पुराना २५ वटा टुँडाल थन्क्याएर राखिएको थियो,’ दीक्षितले भने, ‘ती टुँडाल र ओल्डफिल्डले बनाएको भाइदेगाको चित्रमा देखिएका टुँडाल ठ्याक्कै मिलेको छ। यहीकारण त्यो मयूर अंकित चार सय वर्ष पुरानो संरचना यथावत स्थानमा राख्न पाएका छौं।’
कतिपय कुरामा भने थाहा पाएर पनि चुप लाग्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। उनले अमेरिकी सरकारले भर्खरै तयार पारिदिएको वसन्तपुरको गद्दी बैठकको उदाहरण दिए।
भिमसेन थापाको पालमा बनेको त्यो गद्दी बैठक राणाकालअघि हाम्रै मौलिक शैलीको बेग्लै पारामा बनेको थियो। पछि राणाहरूले त्यसलाई युरोपेली शैलीमा ढाले। अहिले अमेरिकी सरकारले त्यही युरोपेली शैलीलाई निरन्तरता दिएर बनाइसक्यो।
‘रानीपोखरीमा पनि यही विवाद भएको हो,’ दीक्षितले भने, ‘प्रतापमल्लले जस्तो मन्दिर बनाएको भए पनि डेढ सय वर्षदेखि पूजा गर्दै आएका काठमाडौंवासीको आस्था जंगबहादुरले बनाएकै संरचनासँग स्थापित भइसकेको तर्क पनि आइरहेको छ।’
हाम्रा महत्वपूर्ण संरचना क्षतिग्रस्त हुँदा त्यसलाई पुरानै शैलीमा ढाल्न विभिन्न दस्तावेज गम्भीरतापूर्वक अध्ययन गर्ने परिपाटी नै विकास नहुनु दुर्भाग्यपूर्ण रहेको दीक्षित औंल्याउँछन्।
पुरातत्व विभागका अधिकृतहरू भने चाँडो–चाँडो पुनर्निर्माण सुरु गर्नुपर्ने भएकाले समय लगाएर गम्भीरतापूर्वक अध्ययन गर्न नसकिएको बताउँछन्। प्रमुख पुरातत्व अधिकृत श्रेष्ठ भने भुइँचालोमा भत्किएका संरचनाको तस्बिर वा नक्सा उपलब्ध गराउन सार्वजनिक आह्वान गरिएको सम्झन्छन्। अर्कोतर्फ त्यस्ता कुनै सामग्री हाल पुनर्निर्माणमा प्रयोग नभइरहेको विभागकै इञ्जिनियरिङ शाखा स्पष्ट पार्छ।
‘पूर्खाले सुम्पेर गएका सम्पदालाई आजसम्म हामीले खासै महत्व दिएका छैनौं,’ दीक्षित भन्छन्, ‘भोलि केहीगरी यस्ता कुरामा चासो राख्ने मान्छे भए भने उनीहरूका निम्ति विदेशीका दस्तावेज बहुमूल्य सम्पत्ति हुनेछन्।’
त्यसपछि के गर्ने भन्ने उनीहरूले नै निर्धारण गर्ने दीक्षित बताउँछन्।

 

तपाईंको बिचार