Sunday, August 25, 2019

मिठाई पसलमा सिलबन्दी

प्रकाशित मिति: 2018/10/02

काठमाडौं । सरकारले नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा सिलबन्दी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुबौमा सिलबन्दी गरेको हो ।

मंगलबार अनुगमन टोलीले सो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित विक्री वितरण केन्द्र दुबैको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्रीहरुको परीक्षण गरेको थियो ।

 परीक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्पाएर’ पाउडरको समेत प्रयोग भएको पाइएपछि सो मिठाई पसल सिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए ।  विभागले सो पसललाई खाद्य ऐन अन्तरगत कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।

सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

 उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य बस्तु मिसाएको पाइएमा त्यस्ता बस्तु उत्पादन केन्द्रमाथि कडा कार्वाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिए ।

 विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ ।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई सुरु गरेको हो ।

तपाईंको बिचार