Thursday, April 25, 2019

सेनाको गतिविधि बारेको छलफलमा पत्रकारलाई रोक

प्रकाशित मिति: 2018/10/02

काठमाडौँ । नेपाली सेनाको आर्थिक कारोबार सम्बन्धी जानकारी बाहिर आउने भन्दै संसद्‌को राज्य व्यवस्था समितिले बैठकमा पत्रकारलाई प्रवेश गर्न दिइएको छैन ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक लगाएको हो। सोमबार गृह सम्बन्धीको छलफलमा पनि सञ्चारकर्मीलाई रोक लगाएको थियो।


बैठकमा रक्षा मन्त्रालय र सेनाका आर्थिक गतिविधि र प्रशासनिक काम बारे बुझ्नका लागि समितिले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, रक्षा सचिव बिष्णु लम्साल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत सेनाका उच्च पदस्थ अधिकारीहरुलाई बोलाएको छ। बैठक अहिले जारी छ।

समाचार संकलन गर्न गएका पत्रकारलाई बैठक सुरु भए लगत्तै बाहिरिएर सहयोग गर्न राज्य व्यवस्था तथा सुशासन सभापति शशि श्रेष्ठले आग्रह गरेकी थिइन्। संवेदनशील विषयमा छलफल भइरहेकोले तपाईहरु बाहिर गएर सहयोग गरिदिनुस्,उनले भनिन्।

विगतमा रक्षा र गृह सम्बन्धी कुनै पनि छलफलमा संचारकर्मीलाई रोक लगाएको थिएन। यसअघि सुडान घोटाला, हातहतियार सम्बन्धी छलफलमा समेत पत्रकारलाईसमाचार संकलनगर्न दिइएको थियो। समितिको जिम्मेवारी श्रेष्ठले सम्हालेयता बैठकमा पत्रकारलाई रोक लगाइएको यो तेस्रो पटक हो।

तपाईंको बिचार