Monday, February 18, 2019

डीभी आवेदन आज रातिबाट भर्न पाइने

प्रकाशित मिति: 2018/10/03

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम–२०२० का लागि आज रातिदेखि आवेदन खुल्दैछ ।

सपनाको देश अमेरिका जानका लागि वैधानिक र सरल बाटोको रुपमा रहेको डीभी आवेदन आज रातिदेखि नै आफैले गर्न पाइने छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने छ ।
दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिंदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट जानकारी गराएको छ ।

डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सुझाव दिएको छ । डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सकिने छ ।

आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिने छ ।

तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ ।

तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिने छन् । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन ।

फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्ने सूचनामा जानकारी गराइएको छ । डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यहि नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिने छ ।

तपाईंको बिचार