Sunday, August 25, 2019

जनकपुर आइपुग्यो रेल सपना साकार

प्रकाशित मिति: 2018/10/05

काठमाडौं । आफ्नै भूमिमा रेल चढ्ने नेपालीहरुको सपना साकार भएको छ । रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरेका छन् । राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गर्दै आवश्यक निर्देशन समेत दिएका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले रेलमार्गको हालसम्मको प्रगति निरीक्षण गरेका हुन् ।
रेलमार्ग तयार भइसके पनि प्राविधिक कार्य बाँकी रहेकाले एक महिनाभित्र पूरा गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले भारतीय पक्षबाट प्रोजेक्ट म्यानेजर सोरभ कुमारलाई यस्तो निर्देशन दिएका हुन् ।
पहिलो चरणमा साउन २३ गते जयनगरबाट खजुरी स्टेसनसम्म ९ किलोमिटर परीक्षण गरिएको थियो । रेल स्टेसनहरूमा शौचालय, फोहोर व्यवस्थापनलगायत कामलाई सक्दो छिटो सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन् । रेल सञ्चालनको समयावधि नजिकिएकाले बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।
भारतको इरिकन इन्टरनेसनल कम्पनीले रेलमार्गमा प्राविधिक पक्ष हेर्दै आएको छ । ३४ किलोमिटर रेलमार्गमा पहिलो चरणमा जयनगरबाट कुर्थासम्म १७ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन गरिनेछ । रेल विभागले सन् २०१८ अक्टोबर महिनाभित्र रेल गुडाउने लक्ष्य लिएको छ ।

तपाईंको बिचार