Wednesday, February 20, 2019

निर्मला प्रकरण एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

प्रकाशित मिति: 2018/10/26

काठमाडौं । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरुलाई गृह मन्त्रालयले बर्खास्त गरेको हो ।
कंचनपुर घटनाको छानवीन समितिको प्रतिवेदनका आधारमा उनीहरूलाई सरोकारवालाहरूबाट प्राप्त गुनासोको उचित संम्बोधन गर्न नसकेको, प्रमाण नष्ट गरेकोले उनीहरूलाई प्रहरी सेवाबाट हटाइएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
गृह मन्त्रालयस्तरीय निर्णयबाट उनीहरुलाई अयोग्य नहुने गरी बर्खास्त गरेको हो । प्रहरी ऐन अनुसार इन्सपेक्टरदेखि एसपीसम्मको बर्खास्ती गर्ने अधिकार प्रहरी महानरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले उनीहरुले पदीय जिम्मेवारी अनुरुप भूमिका निर्वाह नगरेको र घटनापछिको अनुसन्धानका क्रममा श्रृंखलावद्ध त्रुटी गरेको र प्रमाणहरु नष्ट गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो।
यसअघि गृहले दुबै जनासँग किन बर्खास्त नगर्ने भन्दै दुई पटक स्पष्टिकरण सोधेको थियो। उनीहरूले दिएका स्पष्टिकरण चित्त बुझ्दा नभएकाले उनलाई सेवाबाट बर्खास्त गरिएको गृहले जनाएको छ।
दुवै प्रहरी अधिकारीविरुद्ध प्रहरी नियमावली–२०७१ को नियमक ११३ (क)अनुसार कारवाही गरिएको हो । नियमावलीको नियम ११३ मा सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ। पदीय जिम्मेवारी लापरवाही गरी पूरा नगर्ने प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा योग्य हुने वा नहुने गरी बर्खास्त गर्न सक्ने अधिकार सो व्यवस्थाले दिएको छ।
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका(१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कार पछि हत्या भएपनि उक्त घटनाका मुख्य अभियुक्त अहिलेसम पक्राउ पर्न सकेका छैन ।

 

 

 

 

तपाईंको बिचार