Friday, July 19, 2019

बिजुली बस लुम्बिनीमै चलाउन माग

प्रकाशित मिति: 2018/10/26

लुम्बिनी ।  यहाँका पर्यटन व्यवसायी लीलामणि शर्माले फेसबुकमा असन्तुष्टि जाहेर गरे, ‘कहीँ नभएको जात्रा लुम्बिनी विकास कोषमा देखियो ।’ यहाँ प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा सञ्चालनपछि उनी दिक्दार बनेका हुन् ।
लुम्बिनी प्रदूषणको चपेटामा परेपछि विद्युतीय बस चलाउने योजना बनेको थियो । त्यसको तयारी भइरहेका बेला ती बस काठमाडौंमै चलेको उनले बताए ।
भैरहवा भन्सार कार्यालयमा रहेका बस गत आइतबार ट्रकमा राखेर काठमाडौं पुर्‍याइएको थियो । मंगलबार प्रधानमन्त्री केपी ओलीले बेलुन उडाएर तिनै बसको उद्घाटन गरे । उनीसहित अर्थमन्त्री डा। युवराज खतिवडा, संस्कृतिमन्त्री रवीन्द्र अधिकारी र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पुल्चोकबाट सिंहदरबार बिजुली बस चढेर पुगे । बस काठमाडौं लगिएपछि यहाँ विरोध सुरु भएको छ । लुम्बिनी विकास कोष बोर्डले कुनै निर्णय गरेको छैन ।
प्रधानमन्त्री कार्यालयबाट बस काठमाडौं लैजान दबाब आएको स्रोतले जनाएको छ । उपल्लो स्तरबाट दबाब आएको बारे कोषका पदाधिकारीले मुख खोल्न मानेका छैनन् । ‘महिनाअघिदेखि नै दबाब आएको थियो,’ कोषका एक पदाधिकारीले भने, ‘दबाब थेग्न सकेनौं ।’ बहुमत प्राप्त शासनसत्ता भएकासँग जोरी खोज्नु भनेको आफंै एक्लिनु भएकाले चुप लागेको उनले बताए ।
धूवाँ, धूलो र ध्वनिले प्रदूषित विश्व सम्पदास्थल लुम्बिनीलाई जोगाउन एसियाली विकास बैंक ९एडीबी० को सहयोगमा ती बस भित्र्याइएको हो । डेढ महिनाअघि मात्र चिनियाँ कम्पनीले बस यहाँ ल्याएको थियो । बाँकी आउने क्रममा छन् । एडीबीको ३० करोड अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने ५ वटा ठूला बस र ११ वटा जिप भ्यान यहाँ आउँदै छन् ।
ती बस राजधानीमा साझा यातायातले सञ्चालन गर्नेछ । ‘यहाँका बस काठमाडौंमा सञ्चालन हुनु दुस्खद् हो,’ सिद्धार्थ होटल एसोसिएसन अफ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘तुरुन्त फर्काउनुुपर्छ ।’ प्रदूषणले दिनानुदिन यहाँको पर्यटन व्यवसाय खस्किरहेको उनले बताए ।
राज्यले लुम्बिनीको प्रदूषण न्यूनीकरण गर्नुपर्ने ठाउँमा बस लगेर बढावा दिएको आरोप लगाए । बस अत्याधुनिक छन् । एउटा बसको मूल्य करिब २ करोड पर्छ । ढोकामा ह्वीलचेयरका लागि लिफ्टको व्यवस्था छ । बसभित्र पनि ह्वीलचेयरका लागि ठाउँ छुट्याइएको छ । ‘प्रदूषण कम गर्न र पर्यटन प्रवद्र्धनका लागि आएको बस काठमाडौं लग्नु राम्रो होइन,’ अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘यसले सरकारको लुम्बिनीप्रतिको दृष्टिकोण उदांगिएको छ ।’
‘बस काठमाडौं गएकोबारे जानकारी छैन,’ लुम्बिनी विकास कोषका सदस्य अम्बिकाप्रसाद कोहरले भने, ‘बोर्डको निर्णय नभई लैजान मिल्दैन ।’ दबाब थेग्न नसक्दा लगिएको हुन सक्ने उनले बताए । ‘समाचारमा आएजस्तो लुम्बिनी विकास कोषको आग्रहमा बस काठमाडौं गएको होइन,’ कोषका एक अधिकृतले भने, ‘साझा यातायातले भ्रम फिजाउन खोजेको छ ।’
बस काठमाडौं लगिएको विषयमा कोषको आधिकारिक धारणा बैठक बसेरमात्रै सार्वजनिक गरिने निमित्त सदस्य–सचिव तथा योजना व्यवस्थापक सरोज भट्टराईले बताए । ‘बसको टेन्डर भुक्तानी पर्यटन मन्त्रालयले गरेकाले उसको चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘तर, बस लुम्बिनी फर्किनेमा आशावादी छु ।’ बिजुली बसका लागि ठूलो चार्जिङ स्टेसन आवश्यक पर्ने उनले बताए । त्यस्तो चार्जिङ सेन्टर लुम्बिनीस्थित संग्रहालय छेउमा निर्माण गर्न ठेक्का प्रक्रियामा छ । ‘त्यसका लागि ११र१२ करोड रुपैयाँ खर्च लाग्छ,’ भट्टराईले भने, ‘जुन अन्यत्र तत्काल बनाउन सम्भव छैन ।’
बस अहिले काठमाडौं गए पनि पछि यहाँ फर्किने उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले बताए । ‘सरकारमा बस्नेले बस कसको हो भन्ने बुझ्न सकेनन्,’ उनले भने, ‘त्यसैले समस्या भयो ।’ लुम्बिनी आएको बस पर्यटकलाई लक्षित गरी सञ्चालनको रुटसमेत बनाइसकिएको छ । बुद्धस्थल परासीको रामग्रामदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तिलौराकोट रुट बनाइएको छ । त्यस्तै बस उपलब्ध भए लुम्बिनीबाट सौराहा, काठामाडौं र पोखरासम्म पनि संचालन गरिने बताइएको छ ।

तपाईंको बिचार