Thursday, April 25, 2019

घर छन् तर मान्छे छैनन् एउटै वडाका १६० घर रित्तो

प्रकाशित मिति: 2018/10/27

  पाँचथर ।  जिन्दगीमा पैसा कमाएर कम्तीमा घरसम्म भए पनि बनाउने अधिकांशको सपना हुन्छ। सुरक्षित वासस्थानका लागि बनाइएका घरसँग मानिसको भावनात्मक सम्बन्ध रहन्छ। तर, त्यही घरमा बसोबास नहुँदा कस्तो देखिएला मानिसविनाको घरको सौन्दर्यता कस्तो होला तुम्बेवा र कुम्मायक गाउँपालिकामा रहेका ५४५ वटा घर त्यस्तै अवस्थमा छन्। खानेपानीको चर्को समस्या र सुविधाको खोजीमा बसाइँ सरेर सहर पस्न थालेपछि यहाँका घरहरु मानिसविहिन बनेका हुन्। मानिसविनाका घरहरु बढ्दै गएपछि गाउँ बिरानो लाग्न थालेको तुम्बेवा–१, डिहिगाउँका रमेश कार्की बताउँछन्। ‘कहिले काहीँ घुम्दै जाँदा मानिसविनाका घरहरु भुत बंगालाजस्तै लाग्छ’ उनले भने, ‘हामी पनि बसाइँ सर्ने तयारी गर्दै छौँ, पछि पछि त गाउँ नै सुनसान होलाजस्तो छ।’ तुम्बेवा–१ डिहिगाउँ र ढुकुरे गाउँ सर्वाधिक बसाइँसराइ हुने गाउँ हो। यी गाउँहरुपछि माथिल्लो रातमाटे, थेपाङ लुमाङदिङ, चनौटे, आम्बोटे, आहाले, तल्लो रातमाटेसँगै मालबासे गाउँमा पनि बसाइँसराइ उच्च रहेको छ। वडा नम्बर १ वडाध्यक्ष मोतिराज तामाङका अनुसार १६० वटा घर मानिसविनाका छन्। खडेरीले मुख्य खाद्य बाली उत्पादन लगातार शून्य हुनु, कुवा र पँधेरो सुक्नु र विदेश गएका युवाहरु बलबालिकाको शिक्षाका लागि भन्दै सहरमा बसाइँ सरेर जानुले गाउँका घरहरु बर्सेनि रित्तिने गरेको छ। बसाइँसराइको दर यसरी नै निरन्तर रहने भए वडा क्षेत्रका गाउँहरु केही दशकमै रित्ता हुने चिन्ता रहेको वडाध्यक्ष तामाङले बताए। ‘विदेशदेखि आएका युवाहरु गाउँमा कमै अडिन्छन्, अधिकांश सहरमै घडेरी किनेर परिवारै लिएर बसाइँ जान्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा गाउँको हालत हुन्छ।’ गत वर्ष तुम्बेवा–१ रातमाटेका चन्द्रबहादुर तामाङ बसाइँ सरेर मोरङ पुगे। वर्षौँदेखि पसिना बगाएर बिराएका पाखाबारीसँगै मलिलो बनाएका जग्गा जमिन र घर त्यागेर बसाइँ सरेर गएका उनलाई घर छोड्दा पर्नु पीर प¥यो। माथिल्लो रातमाटेका राम तामाङ, पूर्ण तामाङ, मणिराज भण्डारी र पुण्टे दमाई बसाइँ गएका छन्। उनीहरुमध्ये केहीको घर भग्नावशेषमा परिणत भएका छन् भने केहीको घर भत्किने क्रममा छन्। बसाइँ जाने तयारीमा रहेका तुम्बेवा–१ डिहिगाउँका धर्मलाल कार्कीले बसाइँ जानु रहरभन्दा पनि बाध्यता भएको बताए। ‘जन्म घर त्यागेर जानु त्यति सजिलो छैन, घरिघरी सम्झिन्छु, कसरी छोडेर जाने होला’ उनले भने, ‘आफू बामे सर्दै तातेताते गरी हुर्केको घरसँग भावनात्मक सम्वन्ध हुँदोरहेछ। तर, खडेरीले बर्सेनि घाँस नपलाउने हुँदा गाईबस्तुलाई दिन पनि नपाएकाले सबैथोक त्यागेर जान पर्ने अवस्था आयो।’ तुम्बेवा–२ मा पनि १६० घर खाली रहेको वडाध्यक्ष पूर्ण पिठाकोटेले बताए। उनका अनुसार चुवाडे, सोभारा, हाक्पारा, मेवालगायतका गाउँ वडा नम्वर २ मा बढी बसाइँसराइ हुने गाउँ हुन्। यता कुम्मायक गाउँपालिकामा भने मानिसविहीन घर तुम्बेवा गाउँपालिकामा भन्दा बढी छन्। गाउँपालिका कार्यालयका अनुसार ३३५ घर मानिसविनाका छन्। जसमध्ये कुम्मायक–१ का १५० घर रित्ता छन् भने वडा नम्बर २ मा १८ घर छन्। वडा नम्बर ३ मा ५५, वडा नम्बर ४ मा ३० र वडा नम्बर ५ मा ८२ घर रित्ता छन्। कुम्मायकको बसाइँसराइ बढी हुने गाउँमा खाल्डे, होक्लुम्बा, ओखलढुंगा, कात्तिके, नर्कटे, भुल्के, ढाँडे, बिजुवापानी हुन्। यहाँ वासिन्दा झापा, मोरङ र सुनसरी बसाइँ जाने गरेका छन्। जिल्लाको फिदिम नगरपालिका, याङ्वरक, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा भने बसाइँसराइ हुने क्रममा अत्यधिक कम रहेको तथ्यांक छ। बसाइँसराइ बढ्दै गएपछि तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापा थप चिन्तित छन्। उनले बसाइँसराइलाई कम गर्न तमोर नदीको पानी लिफ्ट प्रणालीमार्फत सिँचाइँका लागि वडा नम्बर १ को सिम्सेपाखा र वडा नम्बर २ को हाक्पारामा परियोजना सञ्चालन गर्न लागिएको बताए। ‘बसाइँसराइ नियन्त्रण गर्न लिफ्ट सिँचाइ प्रणाली थाल्ने भएका छौं, यसले दीर्घकालीन रुपमा बसाइँसराइ समस्या समाधान गर्न टेवा पु¥याउँछ,’ उनले भने, ‘बसाइँसराइ नै भएन भने त मानिस भएका घरहरु हुने भयो नि।’ सुख्खाग्रस्त क्षेत्रको बेँशी क्षेत्रमा गाउँपालिकावासीलाई नगदे फल अमला र बेलको खेती गराउनेसँगै तमोरमा ड्याम निर्माण गरी माछा पालन, होटल व्यवसाय गराउने वातवरण तयार गरिने पनि अध्यक्ष थापाले योजना सुनाए। कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले भने गुणस्तरीय शिक्षा र खानेपानीको व्यवस्थापनमा केन्द्रित भएर बसाइँसराइ कम गर्ने अभियान गाउँपालिकाले थालिने बताए।

तपाईंको बिचार