Thursday, April 25, 2019

भोली हुने नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाको चियापान कार्यक्रमको अन्तिम तयारी पुरा

प्रकाशित मिति: 2018/11/02

काठमाडौं । नुवाकोट जिल्ला नेपाली कांग्रेस तारकेश्वर गाँउपालिकाले भोली कात्तिक १७ गते शनिबार दशैं तथा तिहार, नेपाल सम्वत ११३९ र छठ पर्वको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमसहितको चियापान कार्यक्रमको अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 

तारकेश्वर गाउँपालिकास्थित दाङ्सिङ जब्बर चौरमा भोली बिहान ११ बजेबाट शुरु हुने उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता अर्जुन नरसिंह केसीलगायत नोपली कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, महासमिति सदस्य एवं पूर्व जिल्ला सचिव रमेश कुमार महतलगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने छ ।

नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका संयोजक होम बहादुर तामाङले तारकेश्वर भित्रका आम जनसमुदायमा भाइचारको सम्बन्धको अभिवृद्धि गर्ने र पार्टीलाई थप उर्जा दिनको लागि विशेष सास्कृतिक कार्यक्रम सहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको बताए । उनले तारकेश्वर गाउँपालिका लगायत प्रजातान्त्रिक विचार धारामा आस्था राख्ने सबैलाई उक्त चियापान कार्यक्रममा सहभागिता जनाउनका लागि हार्दिक अनुरोध समेत गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

यसैबिच बिहीबार तारकेश्वर गाउँपालिका स्थित तारुकामा भएको नेपाली काँग्रेसका सक्रिय सदस्य तथा तारुका हिलसाइड बोर्डिङ स्कुलका संचालक मोतीराम ढकालको बुहारीको मोटरसाईकल दुर्घटनामा परी अकल्पनिय रुपमा भएको निधनप्रति खेद प्रकट गर्दै ढकाल परिवारमा परेको असहनिय दुःखलाई सहज रुपमा सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनि समवेदना समेत प्रकट गरेको छ । 

तपाईंको बिचार