Thursday, April 25, 2019

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति निर्माण सम्झौता हुँदै

प्रकाशित मिति: 2018/11/05

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’ को प्रक्रिया अघि बढेको छ ।
निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेसनसँग आज सोमबार निर्माण सम्झौता हुने भएको हो ।
उक्त आयोजनाबारे हिजा (आइतबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकन समेत गरेको थियो ।
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।
धावनमार्ग स्तरोन्नतिको काम पाँच महिनाभित्र शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महिनाको समय दिइएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महिना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महिनाको समय दिएको बताए ।
क्यानका महानिर्देशक सञ्जिव गौतमका अनुसार आगामी अप्रिल १ बाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको रन्वेको कालोपत्र परिवर्तन गर्नु पर्नेछ । दैनिक ८० मिटरका दरले १० घण्टा मिलिङ मेशिनको साथमा राति रन्वे बनाइने छ । यो क्रममा दैनिक १० घण्टा विमानस्थल बन्द हुनेछ ।
धावनमार्ग सकेपछि ‘पार्किङ वे’ को काम शुरु गरिने छ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी रन्वेको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । स्तरोन्नति गर्न करीब १८ महिना लाग्ने छ ।
यसैबीच पर्यटनमन्त्री अधिकारीले धावनमार्ग स्तरोन्नतिको काम जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् । देशकै गरिमासँग जोडिएको विमानस्थलको स्तरोन्नतिपछि विमानस्थलको चाप न्यूनीकरण तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

तपाईंको बिचार