Thursday, April 25, 2019

बर्दियाका लक्ष्मण र इन्द्राणीलाई अपांगताले रोकेन स्वरोजगार बन्न

प्रकाशित मिति: 2018/11/11

बर्दिया । बर्दियाको मधुवन नगरपालिका २ का ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्द्राणी थारूलाई  कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिन्थ्यो। शारीरिक अपांगता भएका उनीहरू परिवारका लागि बोझमात्र थिएनन् हेलाहोचो र अमानवीय व्यवहार पनि खेप्नु पर्थ्यो। अहिले लक्ष्मण  र इन्द्राणीका दिन फेरिएका छन्।  यो दम्पत्तिले स्वरोजगार बनेको छ र आत्मसम्मानका साथ जिउन सफल भएको छ।

लक्ष्मण र इन्द्राणीले अहिले आफ्नै खाजा पसल चलाएका छन्।

उनीहरुको समय बिहान उठेदेखि साँझ अबेरसम्म खाजा घरमै काम गर्दै बित्छ। तीन छोराका आमाबाबुसमेत बनिसकेका उनीहरूले आफ्ना सन्तानको पालनपोषण, शिक्षालयायत जिम्मेवारीले पनि अपांगताको बाबजुद काममा व्यस्त हुन्छन्। 

पसलबाट दैनिक एक हजारदेखि पन्ध्र सय सय रूपैयाँसम्म कमाइ हुने गरेको लक्ष्मण थारूले बताए। 

अपाङ्गता भएका व्यक्तिहरू प्रायस् अरूकै साहरामा बाँच्ने र आफूमाथि हुने अमानवीय व्यवहार सहन नसकी निरस जीवन जिउन बाध्य भएको लक्ष्मणका दम्पतीले देखेका छन्। तर उनीहरू कर्मलाई जीवनको आधार मान्दै आफूले सक्ने कर्म दैनिक रूपमा आफ्नै खाजा घर पसलमा गर्दै आएका छन्। त्यसैले त कसैको अगाडि हात फैलाउनु परेको छैन। स्थानीय समाजसेवी अगुवा राजबहादुर चौधरी भन्छन्, ‘लक्ष्मणका दम्पत्ति एउटा उदाहरण हुन्। अपांगता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेका छन्।‘ 

खाजा घरमा बिहान सबेरैदेखि नै चिया नास्ता खाने मानिसको भीड लागेको हुन्छ। दिउँसो पनि ग्राहकको आउने जानेको कमी हुँदैन। लक्ष्मण थारूको बाँया खुट्टा सुकेर हिँड्न समस्या छ। उनी जन्मदा सामान्य थिए। पछि उमेर बढ्दै जाँदा अचानक बिरामी परे। उपचारपछि निको त भए तर बाँया खुट्टा सुक्दै गयो। धेरै उपचार गराए पनि पहिलेजस्तो भएन। बुबाआमाको रेखदेखमा हुर्कदै ५ कक्षासम्मको पढाइ सके। समय उनका लागि सधैं एकनासको रहेन। दाजुभाइ घरबाट अलग भएपछि भने समस्या हुन थाल्यो, पढाइ छुट्यो। त्यतिबेला  उनका बुबाले चिया नास्ता र मिठाइ पसल गर्थे।

बुवाले छोरा पसलमा चिया, नास्ता, मिठाइ बनाउन सिक जीवन जीउन सहयोग पुग्छ भनेपछि सिक्न थालेका उनलाई सोही सीपले अहिले गरी खान सहयोग पुगेको छ। त्यसैमा सहयोगी पाएका छन् श्रीमती इन्द्राणी थारूलाई। इन्द्राणी पनि शारीरिक अपांग छिन्। उनी पनि सानो छँदा सबै ठीकै थियो। १२ वर्ष पुगेपछि बिरामी परिन्। धेरै उपचार गरेपनि ठिक भएन। उल्टो मेरुदण्डमा समस्या आयो, ढाड कुप्रो पर्दै गयो र उनी अपाङ्ग हुनुपर्‍यो। उनलाई पनि परिवारले बोझको रूपमा व्यवहार गर्न थाल्यो। 

लक्ष्मण र इन्द्राणीले अपांग भएपछि परिवार र समाजले गर्ने नकारात्मक व्यवहारको तीतो अनुभव भोगेका छन्। यही भोगाइको बीचमा उनीहरूले एकअर्काको पीडासँग सहयात्री बन्न १७ वर्ष अगाडि विवाह गरे। र सुरू भयो लक्ष्मणकै बुबाले चलाउँदै आएको नास्ता पसलमा सङ्घर्षपूर्ण दैनिकी। 
ओराली बजारमा २० वर्षदेखि लवकुश खाजा घर घरेलु तथा साना उद्योग र आन्तरिक र राजश्व कार्यालयमा दर्ता गरेर चलाउँदै आएका छन्। इन्द्राणी भन्छिन्( सम्पत्ति जोड्न त सकिएको छैन, पाँच जनाको परिवारलाई खान लाउन पुगेको छ। तीनवटै छोरालाई स्कूल पढाउन सकेका छौं। यसैमा सन्तोष छ।

तपाईंको बिचार