Wednesday, February 20, 2019

क्यालिफोर्नियाको डढेलोमा मर्नेको संख्या २३ नाघ्यो, २ लाख ५० हजारले छोडे घर

प्रकाशित मिति: 2018/11/11

काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तर र दक्षिण क्षेत्रमा अहिलेसम्मकै भयानक आगलागीमा परी मृत्यु हुनेको संख्या कम्तिमा पनि २३ जना पुगेको छ ।

राज्यका तीन स्थानबाट फैलिएको आगोबाट बच्नका लागि कम्तिमा २ लाख ५० हजार मानिस आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।

उद्धारकर्ताको टोली उत्तरी शहर प्याराडाइजमा फैलिएको आगो रोक्न असफल भएका छन् । जहाँ ९ जनाको मृत्यु भइसकेको छ भने अन्य ३५ जना सम्पर्कबिहीन छन् । अर्कोतर्फ दक्षिणी क्षेत्रमा समुद्री तटीय रिसोर्टमा आगोले क्षति पुर्याएको छ । त्यहाँ कम्तिमा २ जनाको मृत्यु भएको छ । अन्य विभिन्न स्थानमा गरी २३ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म २८ हजा हेक्टर क्षेत्रमा आगलागी भएको छ र यो फैलने क्रममा छ । क्यालिफोर्नियाका गभर्नर कार्यालयका मार्क गिलार्डुचीले आगोले गरेको बिनाशको परिणाम अविश्वसनीय र बिक्षिप्त बनाउने खालको भएको प्रतिक्रिया दिएका छन् ।

त्यहाँको मौसम विभागले यस्तो भयानक अवस्था अझै केही दिन जारी रहन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । क्यालिफोर्नियाको केन्द्रीय शहर लस एन्जलसको थाउजेन्ट ओक्स क्षेत्रबाट बिहीबारदेखि फैलिएको आगो नियन्त्रणबाहिर गएको हो ।

तपाईंको बिचार