Tuesday, November 12, 2019

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ (वे) थपिँदै

प्रकाशित मिति: 2018/11/16

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।
विमानस्थलको उत्तर–पूर्वतर्फ र दक्षिण–पश्चिम क्षेत्रमा पाँच÷पाँच वटा विमान अट्ने गरी दुई वटा पार्किङ वे निर्माण भइरहेको छ । अबको पाँच महिनामा निर्माण कार्य सकिने विमानस्थलले जनाएको छ ।
जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष ९एडिएफ० को रु एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण गरिरहेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
निर्माणाधीनमध्ये उत्तर–पूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा रु ४७ करोड र दक्षिण–पश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा रु ५९ करोड खर्च हुनेछ । विमानस्थलका अनुसार उत्तर–पूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटिआर) जहाज तथा दक्षिण–पश्चिमतर्फ दुई वटा वाइड बडी र तीन वटा एटिआर जहाज राख्न सकिने छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उत्तर–पूर्वतर्फको रिमोट पार्किङ–वे आगामी फागुनभित्र सम्पन्न गरिनेछ भने दक्षिण–पश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढाइएको छ । पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
हाल विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङका लागि नौ वटा विमानको क्षमता छ । जहाँ तीन वटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ ।
रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ–वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विष्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ ।
विमानस्थलबाट तीन वटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० वटा विमान पार्किङ गर्न सकिन्छ । अहिले हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्छन् ।

तपाईंको बिचार