Wednesday, September 18, 2019

जोखिममा भरतपुर विमानस्थल

प्रकाशित मिति: 2018/11/17

चितवन । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ ।
यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले भन्ने गरेको बताए ।
तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उनको भनाइ थियो ।
धेरैजसो विमानस्थलको दक्षिणपूर्वबाट धावनमार्गमा जहाज अवतरण गर्ने र सोही दिशाबाटै उडान गर्ने गरिन्छ । उत्तर पश्चिमबाट पनि कहिलेकाहीँ जहाज उडान र अवतरण गर्ने गरिन्छ ।
उनका अनुसार धावनमार्गमा तारबारपछि दक्षिण पूर्व ठूला घर र विद्युतका तारहरु टाँगिएका छन् । उत्तर पश्चिममा नेपाली सेनाको गणका साथै अग्ला रुखहरु छन् ।
प्रमुख गौतमले पाइलटको भनाइ उदृत गर्दै भने, ‘उनीहरुले जहाज अवतरण गर्दा धावनमार्गमै आएर सोझै झर्नुपर्ने बाध्यता छ ।
उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भन्दै तराईको मिनी लुक्लाको संज्ञा दिने गरेका हुन् ।’ लुक्ला विमानस्थल हिमाली क्षेत्रको जोखिमपूर्ण विमानस्थल हो ।
६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । उडान र अवतरण अप्ठ्यारो हुने भएपछि बुद्धको ४७ सिटको एटिआर ४२ ले ४० हाराहारी यात्रु मात्रै उडाउँछ भने यतीले ३० र जेट स्टिमले २० यात्रु मात्रै बोक्ने गर्दछ ।
बुद्ध एयरलाइन्सका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले जुन मापदण्ड हुनुपर्ने हो त्यसो नहुँदा सिट अनुसारको यात्रु बोक्न नसकिएको बताए । उनले दक्षिण पूर्व र उत्तर पश्चिम क्षेत्रका अवरोध घटाएर धावनमार्ग बढाउन सके ठूला जहाज अवतरण गर्न सकिने बताए ।
अहिले भरतपुर काठमाडौँ जहाज भाडा रु तीन हजार ७५० छ । ठूला जहाज चलेमा रु तीन हजारभन्दा कममा उडाउन सकिने उनले जानकारी दिए ।
यती एयरलाइन्स भरतपुरका निमित्त प्रबन्धक अनुप ढकालले जहाजको अवतरण र उडान क्षेत्रमा अवरोध भएका कारण तापक्रम हेरेर यात्रु राख्नुपरेको बताए । ३० जना क्षमताको जेट स्टिममा २० हाराहारी यात्रु पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
भरतपुर काठमाडौँ दैनिक १० जहाज उड्ने गर्दछन् । भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन् । नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो ।
सो समयमा दैनिक १८ वटासम्म विमानले उडान भरेका थिए । प्रदेश नं ३ को राजधानी एवं छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौँ आवतजावत गर्ने यात्रु पनि यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।
प्रमुख गौतमले भरतपुर विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँ र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ नभएको बताए ।
जिल्लामा विशिष्ट व्यक्तिको आवागमन बढी हुने गर्दछ । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद छन् । यही जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गृहमन्त्री रामबहादुर थापा पनि चितवनवासी हुन् ।
पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री विक्रम पाण्डेलगायत नेता पनि यही जिल्ला भएर आवत–जावत गर्दा पनि विमानस्थलको समस्याबारे चासो नदिएको प्रमुख गौतमले गुनासो गरे ।

तपाईंको बिचार