Friday, July 19, 2019

दुई महिनाको अवधिमा ३९ लाख एक हजार रुपैयाँ राजश्व संकलन

प्रकाशित मिति: 2018/11/21

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गले चालू आर्थिक वर्ष २०७४÷०७५ को दुई महिनाको अवधिमा ३९ लाख एक हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

असोज र कात्तिक महिनाको अवधिमा ट्राफिक प्रहरीले उक्त राजश्व संकलन गरेको हो । दुई महिनाको यस अवधिमा सवारी नियम उल्लंघन गर्ने ६ हजार ८ सय ८५ सवारी साधनहरु कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

जसमा असोज महिनामा ४ हजार दुई सय ५६ र कात्तिक महिनामा दुई हजार ६ सय उनान्तीस सवारी साधन कारबाहीमा परेको दरबारमार्ग ट्राफिक प्रहरी प्रभागका इन्चार्ज (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।

यस अवधिमा सबैभन्दा बढी असोजमा ४ हजार दुई सय ५६ सवारी साधनलाई गरिएको कारबाहीबाट २३ लाख बयानब्बे हजार ५ सय रुपैयाँ राजश्व उठेको इन्सपेक्टर भट्टले जानकारी दिए ।

‘अहिले दैनिक झण्डै ५० देखि १०० ओटासम्म सवारी साधनहरु कारबाहीमा पर्ने गरेका छन्,’ उनले भने, ‘प्रहरीको सक्रियताकै कारण दुर्घटना भने कम हुँदै गएको र राजश्वमा पनि वृद्धि भएको छ ।’

कारबाहीमा पर्नेमध्ये सबैभन्दा तीब्र गतिमा सवारी हाँक्ने, जथाभावी पार्किङ गर्ने, लेनको पालना नगर्ने र कागजपत्र बिना नै सवारी चलाउनेहरु धेरै रहेको उनले बताए ।

तपाईंको बिचार