Thursday, July 18, 2019

बस दुर्घटना हुँदा ४ को मृत्यु, ५८ यात्रु घाइते

प्रकाशित मिति: 2018/11/23

काठमाडौं । डडेल्धुरामा बस दुर्घटना भएर १८ यात्रुले ज्यान गुमाएकै रात सिरहा र दार्चुलामा पनि बस दुर्घटना भएका छन्। यी दुई ठाउँमा भएका दुर्घटनामा ४ जना यात्रुको ज्यान गएको छ भने ५८ यात्रु घाइते भएका छन्।  

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ। योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको  आज बिहान मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए।

साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो ।

सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नंको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।

सो दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

उता दार्चुलाको मालिकार्जुनबाट सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो।

अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए। बस सडकबाट ३०० मिटर तल खसेको थियो। बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन। घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए। गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो। जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो। घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको छ भने अन्य १८ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेहरुमा लेकम गाउँपालिका–४ खरकडाका २८ वर्षीया लक्ष्मी कुँवर, २५ वर्षीय दौलत कुँवर, २५ वर्षीया लक्ष्मी कँवर, मालिकार्जुन गाउँपालिका–८ का १५ वर्षीय भुपेन्द्रसिंह धामी, २८ वर्षीय गणेशसिह धामी, लेकम गाउँपालिका–४ का ३३ वर्षीय रामसिंह बस्नेत, जानकी बस्नेत, लेकम–५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन–८ का नगेन्द्र पन्त, १३ वर्षीय लक्ष्मण पन्त, ३५ वर्षीय गोपालसिंह धामी, २४ वर्षीय चन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।

यसैगरी अपी हिमाल गाउँपालिका–६ का २५ वर्षीय मङ्गल महता, मालिकार्जुन–८ का रमेश धामी, ३० वर्षीय हिरेन्द्र धामी र मृतक अनिल पालकी श्रीमती घाइते भएको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । घटनामा सात जना गम्भीर घाइते भएका छन्।

तपाईंको बिचार