Thursday, June 27, 2019

८ हजार मिटर माथि इन्जिन फेल भएको अल्ट्रालाईट सकुशल अवतरण

प्रकाशित मिति: 2018/11/30

पोखरा । चिनियाँ पर्यटक लिएर उडेको एभिया क्लबको एक अल्ट्रालाईट (फुच्चे जहाज) को इन्जिन फेल भए पनि पोखरा बिमानस्थलमा सकुशल अवतरण भएको छ ।
दुर्घटनाबाट जोगिएको अल्ट्रालाइटका पाईलट र यात्रु सकुशल छन्। ९(एनएलबी कलसाईनको अल्ट्रालाइट ८ हजार फिट माथि पु्ग्दा इन्जिन फेल भएको थियो।
बिहान ८ बजेर ९ मिनेटमा चिनियाँ नागरिक लिउ वानमिङलाई लिएर अल्ट्रालाईट हिमश्रृंखलाको दृश्यावलोकनका लागि उडेको थियो। उक्त उचाईमा पुगेपछि इन्जिन फेल भएको र पाईलट बुल्गेरियाका सेवेट सोल्मले ८ बजेर २७ मिनेटको समयमा बिमानस्थलमा सकुशल अवतरण गराएको विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले बताए।
उनका अनुसार पाईलट र यात्रु सकुशल छन्। उड्ने बेलामा इन्जिन बढी आवस्यक पर्ने भएपनि उडिसकेपछि प्याराग्लाईडिङजस्तो हुने भएकाले खासै समस्या नहुने उनले बताए।
बिमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले इन्जिन फेल हुने बेला अल्ट्रालाइट बिमानस्थलदेखि ११ दशमलव ७ नटिकल माईल टाढाको अन्नपूर्ण क्षेत्रको कोर्चाङ क्षेत्रमा थियो। त्यसलाई ग्लाईडिङ गरी सकुशल अवतरण गरिएको र दुर्घटनाबाट जोगिएको उनले बताए।
अवतरणका बेला मुस्ताङको जोमसोम र काठमाडौंबाट आएका चार जहाजलाई आकाशमा होल्ड गराइएको थियो। पोखरा बिमानस्थलमै रहेका अरु ४ जहाजलाई सतर्कतासाथ राखिएको थियो।

तपाईंको बिचार