Friday, July 19, 2019

चितुवाको आक्रमणबाट बालकको मृत्यु, १७ दिनमै दुई जनाको गयो ज्यान

प्रकाशित मिति: 2018/12/02

दमौली। चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् ।
चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए ।
उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो । चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ ।
भानुमा चितुवाको त्रास बढ्यो
भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ । चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय भगवान त्रिपाठीले बताए ।
कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७ औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै मंसिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए ।

तपाईंको बिचार