Tuesday, April 23, 2019

रानीपोखरी पुनःनिर्माणः प्राविधिक क्षमता परीक्षण हुँदै

प्रकाशित मिति: 2018/12/03

काठमाडौं । रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्  होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध भएपछि केही महीनाअघि कामपाले पुनर्निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो । दोस्रो पटक आह्वान गरिएको बोलपत्रमा दुईवटा निवेदन प्राप्त भए पनि मागअनुरूप नरहेकाले पछिल्लो पटक बोलपत्र खुल्ला गरिएको हो । प्राविधिक क्षमता परीक्षण सकिएछि आर्थिक मूल्याङ्कन गरी आगामी पुसको पहिलो सातादेखि पुनर्निर्माणको काम शुरु हुने कामपा प्रमुख विद्यासुन्दर शाक्य जानकारी दिएका छन् ।
‘यस अघिनै पुनर्निर्माणको काम सक्नुपर्ने हो, विभिन्न समयमा विभिन्न व्यक्तिले गरेका विरोधका कारण काम हुनसकेन, अब ती सबै पक्षसँग छलफल भइसकेको छ, नियमितरूपमा काम शुरु हुन्छ’, शाक्यले भने । पुनःनिर्माणकार्य शुरु भएपछि कसैको विरोधले काम नरोकिने स्पष्ट पारे । उनले पहिले पनि विपक्षहरू आफूलाई असफल बनाउन योजनाबद्ध रूपमा लागेको आरोप लगाउँदै मौलिकता कायम गर्दै आधुनिकरूपमै पुनःनिर्माणहुने पनि प्रमुख शाक्यले दोहो¥याए ।
गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको रानीपोखरीमा भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शुभारम्भ गरेका थिए। भूकम्प जानुअघिको पोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समय समयमा सम्पदा प्रेमी र राजनीतिक दलका प्रतिनिधिहरूले ज्ञापन पत्र पनि पेस गरेका थिए । पुनःनिर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन भएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो ।
मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पाँच वर्ष लगाएर प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

तपाईंको बिचार