Monday, February 18, 2019

पूर्वाधार विकास बैंकको सीईओमा अनिल ज्ञवाली नियुक्त, ८ अर्बको साधारण सेयर निष्काशन गरिने

प्रकाशित मिति: 2018/12/03

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो ।
पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ तर कारोबार सञ्चालन स्वीकृति पाउन बाँकी छ ।
‘संचालनको लागि सबै तयारी पुरा भएको छ, सीइओ पनि नियुक्त गरेका छौं । अब राष्ट्र बैंकमा सञ्चालनको लागि अन्तिम स्वीकृति  माग गर्छौ पूर्वाधार विकास बैंकका एक सञ्चालकले बताए ।
सोमबार नियुक्त भए पनि ज्ञवालीले एक महिना पछि मात्र कार्यभार सम्हाल्नेछन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग बैंकिङ क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ । हाईप्रोफाइल बैंकरको रुपमा नेपाली वित्तीय क्षेत्रमा पहिचान बनाएका ज्ञवालीले नबिल बैंकबाट बैंकिङ करियस सुरु गरेका थिए । उनी एक पटक नबिल बैंककै प्रमुख कार्यकारी अधिकृत र दुर्इ पटक ग्लोवल आर्इएमर्इ बैंकको प्रमुख कार्यकारी अधिकृत भए ।  बीचमा ज्ञवालीले भारतको सिटी बैंकमा काम गरेका थिए ।
जारी पुँजी २० अर्ब रहेको यस बैंकको चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । ८ अर्ब रूपैयाँ बराबर साधारण सेयर सर्बसाधारणमा निष्काशन गर्ने भएको छ । यस बैंकमा धेरै वाणिज्य बैंकहरू प्रमोटर रहेका छन् ।
यस बैंकको अध्यक्ष डा विमल कोइराला छन् भने सञ्चालक समितिमा अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल, नुमनाथ पौडेल र अर्थ मन्त्रालयका प्रतिनिधि मुकुन्द पौडेल रहेका छन् ।

 

तपाईंको बिचार