Friday, April 26, 2019

बस पार्कमा परिणत हुँदै खुल्लामञ्च

प्रकाशित मिति: 2018/12/05

काठमाडौ‌ । खुल्लामञ्च अहिले बस पार्क र निर्माण सामाग्री थुपार्ने थलो बनेको छ । कुनै समय परिवर्तनका लागि भएका आन्दोलन र सभा,सम्मेलन गर्ने स्थानका रुपमा परिचय बनाएको खुल्लामञ्चको विजोग हेरिसक्नु छैन । राजनीतिक परिवर्तनको साक्षी बनेको खुल्लामञ्च निर्माणमा सरोकारवाला निकाय उदासिन देखिएको छ ।

पहिलो जनआन्दोलन २०४६ होस् वा ६२–६३ दोस्रो जनआन्दोलनपछिका राजनीतिक उद्घोष यहीबाट भएको थियो । २५ हजार मानिस अट्ने क्षमता रहेको खुल्लामञ्च अहिले मञ्चमा मात्र सिमित बनेको छ । वरिपरि वालुवा थुपारिएको छ भने कतै गिट्टी,रड राखिएको छ । वीर अस्पताल, दरवार हाइस्कूल पुनर्निर्माणका लागि आवश्यक सामाग्री राख्ने स्थानको परिचय बनाउँदै गएको छ, यो खुल्ला मञ्चले ।
 
खुल्लामञ्चको संरक्षण गर्ने दायित्व बोकेको काठमाडौँ महानगरपालिकाले आधाभागमा बसपार्क बनाउन दिएको छ भने आधा ठाउँ नेपाल र विदेशी निर्माण कम्पनीलाई निर्माण सामाग्रि भण्डार गर्न दिएको छ । यसको अस्तित्व खतरामा रहेकामा नागरिक भने चिन्तित छन् ।

महानगरले अस्थायीरुपमा बसपार्क बनाएको भनेको छ तर कहिलेसम्म त्यसको जवाफ छैन । यस्तो क्रियाकलापले निर्माण कम्पनीलाई राहत पुग्ला तर परिवर्तनका लागि साक्षी बनेको खुल्ला मञ्च जोगाउन परिवर्तनका हिमायती शक्ति  उदासिन देखिन्छन् ।

तपाईंको बिचार