Wednesday, September 18, 2019

चावहिल र सर्वोच्च अदालतसहित यी १० स्थानमा आकाशे पुल बन्दै

प्रकाशित मिति: 2018/12/06

काठमाडौं । सवारीको अत्यधिक चापका कारण सर्वसाधरणले बाटो काट्न समस्या झेल्दै आएको चावहिल र सर्वोच्च अदालत अगाडि आकाशे पुल (फ्लाई ओभर ब्रिज) बन्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले सवारी र सर्वसाधरणको बढी चाप हुने क्षेत्र पहिचान गरी हाललाई यी दुई ठाउँमा सार्न मिल्ने खालको आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको छ ।
रामसाह पथमा अड्डा अदालत, स्वास्थ्य मन्त्रालय लगायत भिडभाड हुने कार्यालय भएकाले त्यहाँ आकाशे पुल अत्यावश्यक देखिएको महानगरपालिकाको शहरी पूर्वाधार विकास विभागका प्रमुख नारायणबाबु भट्टराईले बताएका छन् ।
चावहिल चोकमा पनि सडक यात्रुको चाप बढी हुने तर, आकाशे पुल नहुँदा सर्वसाधरणलाई बाटो काट्न समस्या हुँदै आएको छ । गाडीको भीडलाई छल्दै बाटो काट्नु पर्ने हुँदा सवारी दुर्घटनाको उच्च जोखिम देखिएकाले तत्काल आकाशे पुल बनाउनुपर्ने अवस्था छ ।
चावहिल चोकबाट ५० मिटर पर चुच्चेपाटीतर्फ जाने बाटोमा आकाशे पुल बन्ने विभागका प्रमुख इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार दुवै पुलको डिजाइन समेत फाइनल भइसकेको छ । तर, रामसाह पथमा सडक विभागको पनि आकाशे पुल बनाउने योजना रहेकाले समन्वय गरेर काम नबाझिने गरी छलफल गर्ने तयारी रहेको प्रमुख भट्टराई बताउँछन् ।
‘सडक विभागले पनि वर्षेनी यस्ता पुलहरुको योजना बनाउने गर्छ, त्यसैले समन्वय गरेर जाने विषयमा केही दिनभित्रै हामी छलफलमा बस्छौं’, उनले भने । दुवै पुलका लागि एक करोड ८० लाख बजेट छुट्टाइएको पूर्वाधार विभागका प्रमुख भट्टराईले बताए ।
थप १० वटा आकाशे पुल बन्ने
काठमाडौं महानगरपालिका कम्तिमा १० वटा यस्ता सार्न मिल्ने आकाशे पुल बनाउने योजना अगाडि सारेको छ । जसका लागि महानगरपालिका गत आर्थिक वर्षमै पुल बनाउने ठाउँ पहिचान गरेको थियो ।
सर्वोच्च अदालत, चावहिल बाहेक टेकु भन्सार अगाडि, त्रिपुरेश्वर, काठमाडौं जिल्ला अदालत अगाडि, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा यस्ता पुल बनाउने महानगरपालिकाको योजना छ ।
बानेश्वरको संसद भवन अगाडि पनि आकाशे पुल बनाउने योजना थियो । तर, संसद भवन अगाडि आकाशे पुल बनाउँदा सुरक्षा थ्रेट हुने भन्दै रोकिएको महानगरपालिका स्रोत बताउँछ ।
चालु आर्थिक वर्षभित्र कम्तीमा तीन वटा पुल बनाइसक्ने महानगरपालिकाको लक्ष्य छ । जसका लागि महानगरपालिकाले १२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गत आव ०७४–७५ मा महानगरपालिकाले विज्ञापनबाट १० करोड ९४ लाख ८६ हजार ७९ रुपैयाँ राजश्व असुली गरेको थियो । तर, अब बन्न लागेको आकाशे पुलमा विज्ञापन राख्न पाइने छैन ।

तपाईंको बिचार