Thursday, April 25, 2019

पर्वतका भूकम्पपीडितले पाएँ तेस्रो किस्ता

प्रकाशित मिति: 2018/12/09

पर्वत । भूकम्पले क्षति पुर्‍याएर नयाँ घरनिर्माण गरेका यहाँका लाभग्राहीलाई तेस्रो किस्ता वितरण गर्न थालिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन थालेपछि अन्तिम किस्ता दिइएको हो ।

अहिलेसम्म पर्वतमा १६ जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लगेका छन् । सबैलाई अन्तिम किस्ता भुक्तानी गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ५८० घर मात्र निर्माण भएका छन् । घर निर्माणाधिन अवस्थामा रहेका र निर्माण गरिसकेका एक हजार पाँच ८० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । तीमध्ये १६ जनाले मात्र तेस्रो किस्ता बुझेको प्रमुख जगदीश शर्माले जानकारी दिए ।

पहिलो किस्ताको रकम लगेका चार हजार आठ सय ३२ जनामध्ये तीन हजार २५२ जनाले घर निर्माण गर्न शुरु नै गरेका छैनन् । ४३७ जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन् । पहिलो किस्ता बापतको रकम रु २४ करोड १६ लाख लाभग्राहीलाई भुक्तानी गरिसकिएको छ । दोस्रो किस्ताबापतको रकम रु २३ करोड ७० घर बनाएकाले भुक्तानी लगिसकेको छन । त्यस्तै तेस्रो किस्ताबापत रु १६ लाख पनि लाभग्राहीलाई वितरण गरिसकिएको कार्यालयले जनाएको छ । हालसम्म पूर्ण क्षतिमा परेर घर निर्माण गर्नेका लागि मात्र रु ४८ करोड दुई लाख भुक्तानी गरिसकिएको आयोजनाले जनाएको छ ।

अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको शर्माले जानकारी दिए । उनले भने , “घर बनाउन नचाहानेका लागि सार्वजनिक सूचना जारी गरेरै रकम फिर्ता गर्न ताकेता गरेका छौ ।”

आगामी वैशाख सम्म रकम फिर्ता नगर्नेका लागि सरकारी बाँकी सरह असुल उपर गरिने शर्माले जानकारी दिए । पीडित लाभग्राहीलाई अझैपनि तोकिएको मापदण्डअनुसार घर निर्माण गरेर दोस्रो, तेस्रो किस्ताका लागि माग गर्न आग्रह गरिएको छ । कतिपयले पूर्ण क्षतिमा परेको भए पनि पुरानै घरलाई टालटुल पारेर बसिरहेको समेत पाइएको छ । त्यस्तै आंशिक क्षतिमा परेका ११३ जनाले रु एक लाख लिइसकेको पनि कार्यालयले जनाएको छ ।

तपाईंको बिचार