Thursday, April 25, 2019

विकासले फेरिँदै पिलीगाउँ

प्रकाशित मिति: 2018/12/10

पिली । विभिन्न पूर्वाधार निर्माणका कारण पिलीगाउँ नमूना बन्दै गएको छ । सशस्त्र द्वन्द्वको अन्तिम फौजी हमलाको शिकार पिलीबासीको जीवनस्तरसमेत फेरिंदै गएको छ ।
कालिकोटको पिलीगाउँ भएर कर्णाली राजमार्ग निर्माण भएपछि बनेको बजार ।
कर्णाली राजमार्ग निर्माणको क्रममा राखिएको सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा ०६२ साउन २३ गते माओवादीले आक्रमण गरेको थियो । आक्रमणमा दुवै पक्षले ठूलो संख्यामा मानवीय र भौतिक क्षति व्यहोरेका थिए ।
‘कर्णाली राजमार्ग र शान्ति दुवैले गाउँ फेरियो,’ खाडाचक्र ७ का वडाध्यक्ष रजबहादुर मल्लले भने ‘होमस्टे, सरसफाईसहित गाउँ नमूना बन्न थालेको छ ।’ उनले पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन पनि पूर्वाधार निर्माणको काम भइरहेको जनाए । खाडाचक्र नगरपालिकाले पनि युद्ध पर्यटकीय क्षेत्रको लागि केही रकम छुट्याएको छ । पर्यटन मन्त्रालयको बजेटले भ्यूटावर बनाउने योजना छ ।
कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि पिली र आसपासका बासिन्दाको दिनचर्या फेरिएको स्थानीय निस्ता कार्कीले बताइन् । उनका अनुसार कमाइका लागि भारत धाउने युवा गाउँमै विभिन्न पेसा अपनाएर आत्मनिर्भर बन्न थालेका छन् ।
मंसिर पहिलो साता गाउँलाई छाउपडी गोठमुक्त घोषणा गरिएको छ । घरघरमा खानेपानीका धारा र चर्पी निर्माण गरिएको छ । गेलालाई जोड्न गाउँको पुछारमा बग्ने तिला नदीमाथि तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण भएको छ । घर घरमा सौर्य प्रणालीले गाउँ झलमल्ल बनाइएको छ ।
सडक निर्माणसँगै पिली बजार बनेपछि कालिका प्राविलाई मावि बनाइएको छ । विद्यालय भौतिक पूर्वाधार, छात्रछात्रा शौचालय, बाल मैत्री वातावरण, अभिभावकको सक्रियताजस्ता कारण जिल्लाकै नमूना विद्यालयमा दर्ज भएको छ ।
‘सडक नहुँदासम्म वर्षमा एक दुई पटक अनुगमनमा आउने शिक्षाका सरोकारवाला आजभोली महिनामा दुई तीन पटक विद्यालय हेर्न आउछन्,’ स्थानीय शिक्षक पूर्णवहादुर शाहीले भने ‘ रारा जाने बाटोमै विद्यालय पर्ने भएकाले आन्तरिक पर्यटक पनि पिली गाउँमा गाडी र मोटरसाइकल रोकेर हेरेर फर्किने गरेका छन् ।’ गाउँका सबै बालबालिका विद्यालय भर्ना भएर नियमित विद्यालय आउने गरेको उनको भनाइ छ ।
माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयबासीले लोकतन्त्रको बहालीपछि मात्र शान्तिको सास फेर्न पाएको स्थानीय अगुवा पुत्रवहादुर मल्ल बताउँछन् । ‘पहिले (सशस्त्र द्वन्द्वको बेला) गाउँमा डर त्रासमात्र हुन्थ्यो,’ पूर्वगाविस उपाध्यक्ष मल्ल भन्छन् ‘अहिले व्यवस्थासँगै यहाँका बासिन्दाको अवस्था पनि फेरियो ।’ उनले सडक र राजनीतिक परिवर्तन दुवैले पिली फेरिएको जनाए ।
सशस्त्र द्वन्द्वमा गाउँ छाडेर सदरमुकाम मान्म विस्थापित बन्न बाध्य बनाइएका मल्लले अहिले गाउँमै दुई तले आरसिसी ढलानसहितको पक्की घर निर्माण गरेका छन् । पिलीको तलसेरा, माझ पिली र तल्लो पिली सबै गाउँमा खरका छाना भएकोमा अहिले अधिकांशका छाना पत्थर र टिनले छाइएका छन् ।
पिलीको विकासका लागि खाडाचक्र नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर सडक, होमस्टे, युद्ध पर्यटकीय संरचनाका लागि पहल गरिरहेको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले रारा जाने पर्यटकलाई पिलीमा एक रात बस्ने वातावरण बनाउन नगरले योजना बनाएको जनाए ।
पिली आसपासका गाउँ पाखा, छाप्रे, गेला, ओदानकु, कालिका व्यापारिक केन्द्र बनेका छन् । करिब ५० व्यापारीले पिलीमा होटल, स्टेसनरी, खाद्य तथा खुद्रा पसल सञ्चालन गरिरहेका छन् । गाउँको बीचमा कर्णाली राजमार्ग नजिकै वडा भवन पनि छ । तल सेरा र पिली दुई गाउँको बीचबाट गएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकले यहाँको कायाकल्प गर्न सहयोग गरेको स्थानीय बलवहादुर कार्कीको अनुभव छ । ‘गाउँको वरिपरि भीरैभीर भएको पिलीलाई बादर बस्ने गाउँ भनेर हेला गर्थे,’ उनले भने ‘अहिले अवस्था फेरियो, हेला गर्ने गाउँका मान्छे यही बस्न आउनुपर्‍यो ।’
मल्ल, कार्की, विश्वकर्मा जातजातिका करिब दुई सय घरधुरीको बसोबास पिलीमा छ । पिली अहिले खाडाचक्र नगरपालिकाको वडा नं ७ मा पर्छ । जिल्ला कृषि ज्ञान केन्द्रसहितका विभिन्न कार्यक्रमको सहयोगमा गाउँबासीले ब्यवसायिक रूपले तरकारी तथा फलफूल खेती, बाख्रापालन सुरु गरेका छन् । स्थानीय जनक मल्लले सडक पुगेपछि केरा र सुन्तलाले बजार पाएको बताए ।
पिली गाउँका द्वन्द्वपीडितले भने उचित ब्यवस्थापन नभएको गुनासो गरेका छन् । ‘सपना देखाएजस्तो सहयोग भएको छैन,’ स्थानीय पर्वले विश्वकर्माले भने, ‘धनी(गरिब सबै बराबर हुन्छन् भन्थे केही त भएनन् कम्युनिष्टको सरकार भए पनि द्वन्द्वपीडितले पर्याप्त राहत र सहयोग नपाएको उनको गुनासो छ ।
पिली आक्रमणमा पाँच दर्जन सेना र त्यतिकै संख्यामा माओवादीको ज्यान गएको थियो भने ६० जना शाही नेपाली सेनालाई माओवादीले अपहरण गरी डेढ सातापछि छाडेका थिए । पिलीबाट दुई सय थान हतियार लगेका थिए ।

तपाईंको बिचार