Monday, February 18, 2019

कालोमोसोले नारायणकाजी श्रेष्ठ विवादमा

प्रकाशित मिति: 2018/12/11

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको ‘भ्रष्टाचारीलाई जहाँ भेटिन्छ त्यही कालोमोसो दल्नुपर्ने’ भनाइ विवादमा परेको छ ।  सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले राज्यको हरेक निकायमा थामिनसक्नु भ्रष्टाचार मौलाएकाले भ्रष्टचारीलाई कालोमोसो दल्न विद्यार्थीलाई निर्देशन दिएका थिए ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ
उनले भने ‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ ।’ प्रवक्ता श्रेष्ठको अभिब्यक्ति पदअनुसार शोभनीय नभएको टिप्पणी हुन थालेको छ । भ्रष्टाचार नियन्त्रण गर्न विद्यमान कानुन छ । तर नेता श्रेष्ठले कालोमोसो दल्ने भावुक अभिब्यक्ति दिएका छन् ।
नेता श्रेष्ठको निर्देशन भन्दै कसैले मन नपरेकालाई कालोमोसो दल्न थाल्ने हो भने के हुन्छ  उनको यस्तो अभिब्यक्तिलाई जिम्मेवार नेताको पदीय मर्यादा विपरीतको अभिब्यक्तिका रुपमा लिइएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक संजाल फेसबुकमा प्रवक्ता श्रेष्ठको कथन शोभनीय नभएको उल्लेख गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य सूर्य थापा
उनले लेखेका छन्–‘प्रवक्ताको कथन  नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कालो मोसो दल्न आव्हान गरेको कथन दुई तिहाई बहुमतको सरकार संचालन गरिरहेको सत्तारूढ पार्टीलाई शोभनीय, पार्टीको संस्थागत निर्णय र जिम्मेवार भनाई नभएर उट्पट्याङ कुराजस्तो भयो । यो भनाइ उहाँको मौलिक नभएर चिनियाँ सांस्कृतिक क्रान्तिकालमा गरिएको वितण्डाकै प्रभाव र भावुकता मात्र हो । यसरी कालोमोसो दल्न आह्वान गर्न नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्डलाई सुहाउला, जसले संविधान र कानुन नमान्ने भनिरहेको पाइन्छ ।
सत्तारूढ दलले त संविधान, कानुन र विद्यमान संयन्त्रमार्फत् भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । यदि कानुन र संयन्त्र पर्याप्त नभए बनाउन सकिन्छ । संविधान नै संशोधन गर्नुपरे पनि दुई तिहाई बहुमत छँदैछ । तर कानुन हातमा लिने वा लिन उक्साउने अधिकार कसैलाई छैन । पार्टी प्रवक्ताले नीति, निर्णय र संस्थागत जिम्मेवारी पूरा गर्ने योग्यता प्रदर्शन एवं जिम्मेवारीबोध गरेको बढी मर्यादित र शोभनीय हुन्छ होला ।’
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले दुखेसो समेत गरेका थिए । ‘आफ्नै पार्टीको सरकार छ, सरकारमा बसेकाहरु मौका नपाएका भाते जस्ता भएका छन् ।’ नेपालमा राजनीतिक फोहोर बढ्दै गएकाले सफाई आन्दोलन जरुरी भएको उनको भनाइ थियो ।
जताततै भ्रष्टाचार र व्यथिति छ । राजनीतिक क्षेत्र नै सबैभन्दा बढी भ्रष्ट छ । कहाँबाट शुद्धिकरण थाल्ने  श्रेष्ठको प्रश्न थियो ।

तपाईंको बिचार