Tuesday, February 19, 2019

निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ भनेर प्रचार गरेकै समयमा गैंडाको सिकार भएको पुष्टि

प्रकाशित मिति: 2018/12/12

चितवन । चोरी सिकारीका कारण गैंडा मर्न कम भएपछि ठूलै प्रचार गरेर ‘शून्य चोरी सिकार’ मनाउन थालियो । लगातार हजार दिनसम्म सिकारीका कारण गैंडा नमारिएको भनेर मन्त्री नै ल्याएर चितवन निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ कार्यक्रम पनि गरेको थियो । तर जिल्ला अदालतले हालै गरेको एक फैसलामा शून्य सिकार भनेको त्यही हजार दिनभित्रै चोरी सिकारीले गैंडा मारेको तथ्य भेटिएको छ ।
सिकारीले मारेका गैंडा स् २०७१ साल बैशाखमा चोरी सिकारीले गोली हानेर मारेको गैंडा ।
चितवन जिल्ला अदालतले गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा मंसिर ११ गते दुईजनालाई सजाय सुनाएको छ। अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार भारत बिहारको पश्चिम चम्पारण गोबरहिया दोनका ४० वर्षीय छठु महतोलाई सात वर्ष कैद भएको थियो। त्यसै गरी चितवन माडीका रामा महतोलाई पाँच लाख रुपैयाँ जरिवना भयो। विस २०७३ सालको जेठमा गैंडा मारेको मुद्दामा उनीहरुलाई यो सजाय भएको हो।
तर चितवन निकुञ्जले दिने गरेको आधिकारिक विवरणहरुमा यो मितिमा गैंडा मरेको देखिँदैन। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे ७१ सालको बैशाख २० गते पछाडि एकै पटक ७३ सालको चैत्र २६ मा चोरी सिकारीले गोली हानेर गैंडा मरेको बताउँछन्। ७१ साल बैशाख २० यता चोरी सिकारीका कारण कुनै पनि गैंडा नमरेको भनेर ७३ सालको माघ १५ मा शुन्य चोरी सिकारका हजार दिन मनाइएको थियो।
तत्कालिन वनमन्त्री शंकर भण्डारी र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सौराहामा गैंडाको चित्र ढाकिने गरेर एक हजार लेखिएको साइनबोर्ड अनावरण गरेका थिए। निकुञ्ज कार्यालय र सुरक्षाका लागि तैनाथ श्रीजंग गणले संयुक्त रुपमा त्यो कार्यक्रम मनाएका थिए। तर अदालतले मुद्दा फैसला गर्दा भित्र भित्रै गैंडा मरेर खागसमेत बिक्री भएको घटना उजागार भयो।

तपाईंको बिचार